काठमाडौं, ३ भदौ । पर्यटनसँग सम्बन्धित प्रमुख संघसंस्थाहरूले नेपाल घुम्न चाहने विदेशी नागरिकलाई क्वारेन्टाइनमा नराख्न सरकारसँग माग गरेका छन् ।
हिजो मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर खोपको डोज पूरा गरेर नेपाल घुम्न चाहने विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न माग गरेका हुन् । उक्त अवसरमा पर्यटनकर्मीहरूले राज्यमन्त्री श्रेष्ठलाई तीन बुँदे सटिक मागपत्र पनि बुझाएका छन् ।
मागपत्रअनुसार त्रिभुवन विमानस्थललगायत पर्यटक प्रवेश विन्दुमै पीसीआर परीक्षण गरी पोजिटिभ रिपोर्ट आएकालाई मात्र क्वारेन्टाइनमा राख्न माग गरिएको छ । कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनकर्मीहरूले सरकारसँग यस्तो माग गरेका हुन् ।
त्यस्तै उनीहरूले पर्यटनसहित सेवा क्षेत्रमा खटिएकाहरूलाई ३० दिनभित्र र बाँकी सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराई सबै पर्यटन क्षेत्र खुला गर्नुपर्ने माग पनि गरेका छन् । स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमनको व्यवस्था मिलाइनुपर्ने उनीहरूको सुझाव छ ।
पर्यटनकमर्महरूसँगको भेटका अवसरमा राज्यमन्त्री श्रेष्ठले फ्रन्टलाइनरलाई खोप लगाउन प्रयासरत रहेको र केही दिनभित्रै क्वारेन्टाइनको व्यवस्था हटाइने बताएका छन् ।
राज्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, होटल संघ नेपाल, ट्रेकिङ एजेन्जिस् एशोसियसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोशियसन अफ राफ्टिङ एजेन्सिज्, नेपाल एसोशियसन अफ टुर अपरेटर्स, टुरिष्ट बस एसोशियसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, हिमालयन उद्दार संघ, नेपाल पर्यटक यातायात व्यवसायी संघ, एक्सपिडिसन अपरेटर्स एसोशियसन नेपाल र पाटा नेपालका अगुवाले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS