काठमाडौँ । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिश कलेज (टीबीसी) र थाइल्याण्डको कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई निरन्तरता दिँदै ब्रिटिश कलेजले थाइल्याण्डको बैंककस्थित कृक विश्वविद्यालयसँग अनुसन्धान, शैक्षिक आदानप्रदान, तथा संस्थागत विकासमा दीर्घकालीन सहकार्य गर्ने जस्ता महत्त्वपूर्ण शैक्षिक क्रियाकलापहरूलाई अघि बढाउने विषयमा समझदारी गरेको हो ।
समझदारी पत्रमा द ब्रिटिश कलेजको तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेल तथा कृक विश्वविद्यालयको तर्फबाट अन्तर्राष्ट्रिय विभाग निर्देशक डा. चनिदापा नुनुआलभुटिवोङले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा टीबीसी इन्क्युबेसन सेन्टर प्रमुख गणेश पौडेल तथा कृकको दक्षिण एसियाका लागि मार्केटिङ प्रमुख धिरजकुमार शाक्यको पनि उपस्थिति रहेको थियो ।
सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिश कलेजका कार्यकारी निर्देशक कँडेलले भने, ‘आगामी पाँच वर्षका लागि मान्य हुने यो समझदारीले दुवै संस्थाबीच संयुक्त अनुसन्धान कार्यक्रम, विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज, संयुक्त रूपमा शैक्षिक कार्यक्रमको आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय अनुसन्धान अनुदानका लागि संयुक्त आवेदन दिने लगायतको क्षेत्रमा काम गर्ने ढोका खोलेको छ ।’
दुवै संस्थाले वैश्विक स्तरमा गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यो समझदारीलाई भविष्यमा आपसी समझदारीका आधारमा नविकरण र विस्तार गर्न सकिने द ब्रिटिश कलेजले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS