काठमाडौँ । अर्जेन्टिनाका फुटबलका दिग्गज खेलाडी लियोनेल मेसी १४ वर्षपछि भारत भ्रमणमा आएका छन् ।
उनीसँगै उरुग्वेका स्टार लुइस स्वरेज र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पल पनि छन् । तीनै जना खेलाडी बिहान २:३० बजे कोलकाता विमानस्थलमा आइपुगेका हुन् । उनीहरुले आजै बिहान प्रशंसकहरूलाई भेट्नेछन् ।
मेसी संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का ब्रान्ड एम्बेसडर हुन् र भारतमा ’गोट इण्डिया’ भ्रमणका क्रममा आएका हुन् । मेसीले डिसेम्बर १५ सम्म तीन दिनमा हैदराबाद, मुम्बई र नयाँ दिल्ली सहित चार शहरहरूको भ्रमण गर्ने बताइएको छ ।
उनले कोलकातामा बलिउड अभिनेता शाहरुख खान, बंगालका मुख्यमन्त्री ममता बनर्जी र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीलाई भेट्नेछन् । उनले मुम्बईमा सचिन तेन्दुलकरलाई पनि भेट्नेछन् । उनको भ्रमण डिसेम्बर १५ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटसँगै समाप्त हुनेछ ।
मेसीले आज बिहान कोलकाताको युवा भारती रंगशालामा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल अनावरण गर्नेछन् । त्यसपछि उनले शाहरुख खान, गांगुली र मुख्यमन्त्रीलाई भेट्नेछन् । उनी दिउँसो १२:३० बजेतिर मैत्रीपूर्ण खेल खेल्नेछन् र त्यसपछि दिउँसो २ बजे हैदराबाद प्रस्थान गर्नेछन् ।

डिसेम्बर १३ मा मेसीले हैदराबादमा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछन् र एक संगीत समारोहमा भाग लिनेछन् । डिसेम्बर १४ मा उनी मुम्बई पुग्नेछन्, जहाँ उनले वानखेडे स्टेडियममा भारतीय दिग्गज सुनील क्षेत्रीसँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछन् । डिसेम्बर १५ मा मेसी दिल्ली आइपुग्नेछन् । बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि, उनी दिउँसो एक सम्मान समारोहमा भाग लिनेछन् र मेसी सोही दिन भारतबाट प्रस्थान गर्नेछन् ।

विश्व च्याम्पियन मेसीका भारतमा धेरै प्रशंसकहरू छन् र स्टेडियममा उनलाई हेर्न टिकटको लागि भीड देखिएको छ । हैदराबादको उप्पल स्टेडियममा उनलाई हेर्न टिकट २२५० भारुबाट टिकट दर सुरु भएको छ । कोलकातामा टिकटको मूल्य ४३६६ मुम्बईमा ७०८० र दिल्लीमा ७६७० बाट सुरु रहेको छ ।
मेसी २०११ पछि भारत आएका हुन् । उनी चौध वर्षअघि उनले भेनेजुएला विरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए ।

FACEBOOK COMMENTS