काठमाडौँ– सर्लाहीमा मिटरब्याजी विरुद्ध १ हजार नौ सय २० उजुरी परेका छन् ।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि १ हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मिटरब्याजी पिडितहरुले साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए ।
सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो ।
FACEBOOK COMMENTS