काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध प्रतिशोध साँधेर सरकारले आफ्नै काल निम्त्याएको बताएका छन् ।
रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले आफूभन्दा धेरै सिनियर नेता माधव नेपालविरुद्ध अख्तियारलाई प्रयोग गरेर भ्रष्टाचारको मुद्दा लगाएको र यो प्रकरणले सरकार नै ढल्ने दाबी गरेका हुन् ।
उनले भने, ‘स्यालको काल आयो भने सहर पस्छ, नेताको काल आयो भने संसद् विघटन गर्छन् । यो सरकारको काल आएको छ । यसको अवसान र मृत्यु अत्यन्तै नराम्रोसँग हुन्छ ।’ उनले अहिलेको सरकारको काल आएको भन्दै संसद विघटनसम्मको परिकल्पना गरी असान्दर्भिक टिप्पणी गरे ।
यस्तै, उनले माधव नेपालमाथि जबरजस्ती मुद्दा चलाइएर नेकपा एस कोल्याप्स पार्न खोजेको आशङ्का पनि व्यक्त गरेका छन् । ‘एकीकृत समाजवादीका अध्यक्षलाई मुद्दा लगाउन सकियो भने यो पार्टी कोलाप्स हुन्छ भनेर सोचेको होला, सांसदहरु एमालेमा आउँछन र लार्जेष्ट पार्टी हुने सोचेको होला, तर त्यसो हुन हामी दिँदैनौँ,’ उनले भने ।
उनले अध्यक्ष पदबाट माधव नेपालले राजीनामा नदिने पनि स्पष्ट पारेका छन् । उनले भने, ‘माधव नेपाल अध्यक्ष भएरै ओलीको कुशासनको मुकाविला सशक्त रूपमा प्रतिरोध गर्छौं । ओलीले चिताएको कुरा पूरा हुन दिँदैनौं ।’
FACEBOOK COMMENTS