काठमाडौँ । नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ ।
सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत बर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
चालु आर्थिक वर्षको अहिलेसम्म प्राप्त राजस्वका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दीपक अधिकारीले अहिलेसम्म कुल राजस्वमा २२ प्रतिशत र आन्तरिक राजस्वमा २० प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिए । उनका अनुसार यस वर्षका लागि लक्ष्य राखिएको १५ अरब ११ करोड ४३ लाख रुपियाँमा मंसिर ७ गतेसम्ममा ३ अरब ३७ करोड २३ लाख रुपियाँ संकलन भइसकेको छ । गएको यही यसै दिनसम्ममा ३ अरब २६ करोड २२ लाख ६० हजार रुपियाँ राजस्व संकलन भएको थियो । यसरी गएको वर्षको तुलनामा यस वर्ष मंसिर ७ गतेसम्ममा ११ करोड १ लाख २६ हजार रुपियाँ वढी राजस्व संकलन भएको छ ।
आन्तरिक आयतर्फ १० अरब १२ करोड ६४ लाख रुपियाँ लक्ष्य राखिएकोमा अहिलेसम्ममा २ अरब ९ करोड ८३ लाख रुपियाँ राजस्व संकलन भएको छ । यसबाहेक यस वर्ष अनुदानबाट २ अरब ४७ करोड ६९ लाख १६ हजार रुपियाँ आय हुने लक्ष्य राखिएको छ ।
बैठकमा राजस्व संकलनका विद्यमान चुनौती, चुनौतीको सामना गर्न अपनाइएका विधि र यस पछि गर्नु पर्ने कामका विषयमा छलफल भएको थियो । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको क्षतिले व्यवसाय तथा व्यवसायिक प्रतिष्ठानमा परेको असर, असर न्यूनीकरणका लागि भएका प्रयत्न छलफलमा उठेको थियो ।

यस क्रममा विभागले गरेका कामका विषयमा जानकारी दिँदै अधिकारीले, महालेखा परीक्षकले विभिन्न आर्थिक वर्षमा औल्याएका वेरुजुमध्ये राजस्व विभागले व्यक्ति र संस्था गरी ८ वटाबाट ३३ लाख २ हजार रुपियाँ वेरुजु असुल गरेको जानकारी दिए । उनका अनुसार घरबहाल सरोकार केन्द्र, होटल एशोसिएसन नेपाल, नेपाल नाइ संघलगायत २१ वटा वस्तुगत संघलाई व्यवसाय कर असुलीका लागि पत्राचार गरेको छ । लामो समयदेखि बिज्ञापन कर नतिरेका डिजिटल बोर्डहरुका विषयमा अनुगमन प्रतिवेदनले विज्ञापन राख्न उपयुक्त हुने राय दिएका बोर्डबाट विज्ञापन कर असुल गरेको छ । विभागले १८ वटा गुनासाको समाधान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा १० अरब ७६ करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ संकलन भयो । आ. व. २०७८/०७९ का लागि लक्ष्य ९ अरब ८ करोड रुपियाँ थियो । यसमा १० अरब ६० करोड रुपियाँ संकलन गर्यो । आर्थिक वर्ष २०७९/०८० मा १० अरब ४१ करोड रुपियाँ लक्ष्य राखेकोमा १० अरब २५ करोड रुपियाँ संकलन भएको थियो । आर्थिक बर्ष २०८०/०८१ मा १० अरब ८० करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ राजस्व संकलन भयो ।

आर्थिक वर्ष २०८१/०८२ मा १२ अरब ९० करोड लक्ष्य राखिएकोमा १० अरब ७४ करोड रुपियाँ राजस्व संकलन भएको थियो ।

काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क (पर्यटक प्रवेश शुल्क), विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत कर संकलन गर्छ ।
FACEBOOK COMMENTS