काठमाडौं । नेपालमा एमजीको विद्युतीय कार एकपछि अर्को दुर्घटनामा पर्दै आएको छ ।
कहिले चार्जमा राखेका बेला आफैं आगलागी हुने त कहिले गाडी स्टार्ट गर्नेवित्तिकै तीव्र गतिमा गुडेर भयानक दुर्घटना हुनेजस्ता घटनाहरू एमजीको कारमा देखिएका छन् । तीन घटनाहरूमध्ये कतिपय मानवीय त्रुटीका कारण भएका छन् भने कतिपय प्राविधिक कमजोरीका कारण भएको पाइएको छ ।
यसैबीच एमजीको यो दुर्घटना श्रृङ्खलामा बुधबार राति अर्को एउटा घटना पनि थपिएको छ ।
घटना नक्सालस्थित नारायणचौरमा भएको हो । नागपोखरीतर्फबाट नक्सालतिर गइरहेको एमजीको ‘जेडएस’ ग ३ च ७४११ नम्बरको इलेक्ट्रिक कार सडकपेटीमा पुगेर दुर्घटना भएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरी वृत्त मालिगाउँका एक प्रहरी अधिकारीले जानकारी दिए ।
तर, ती प्रहरी अधिकारीले थप जानकारी दिन अनकनाए र घटनासम्बन्धी सबै विवरण ट्राफिक प्रहरीलाई बुझाइसकिएको जानकारी दिए । यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्दा ‘घटना विवरणहरू मुद्दामा गइसकेको हुने’ भन्दै माली गाउँ प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र तामाङसँग जानकारी लिन अनुरोध गरियो ।
मालीगाउँ प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र तामाङलाई टेलिफोन गर्दा उनले बारम्बार काटिरहे र सो फोन कलप्रति कुनै चासो दिएनन् । काठमाडौंको मध्य भागमा भएको घटनाबारे सामान्य जानकारी दिन प्रहरी अधिकारीहरूले साचो नदिनुले घटना लुकाउन खोजिएको अनुमान गर्न सकिन्छ । विभिन्न घटना तथा दुर्घटनाका तस्बिरहरू सामाजिक सञ्जाल ट्वीटर (एक्स) र फेसबुकलगायतका अफिसियल पेजहरूमा राख्ने गरेको प्रहरी कार्यालयले यो घटनाबारे प्रस्तुत समाचार तयार पार्दासम्म राखेको छैन ।
घटना रातिको समयमा भएको हुनसक्ने एक प्रत्यक्षदर्शीले बताए । उनका अनुसार बिहान आफूले कार दुर्घटना भएको अवस्थामा देखेको र केही तस्बिर खिचेको तर, तस्बिर खिचेको केहीबेरमै दुर्घटनाग्रस्त कार बेपत्ता पारिएको थियो ।
एमजी गाडीको आधिकारिक बिक्रेता स्वयम् पारामाउन्ट मोटर्सको शोरूमको ढोकामै भएको दुर्घटनाबारे त्यहाँ रहेको सुरक्षाकर्मी (सेक्युरिटी गार्ड)ले पनि केही पत्तो नपाएको बताएको ती प्रत्यक्षदर्शीको भनाइ छ । यद्यपि, अहिले ती सुरक्षाकर्मीलाई पनि सोधपुछका लागि प्रहरीले लगेको बताइएको छ । तर, यी घटनाक्रमबारे प्रहरी अधिकारीहरूले भने खुलेर जानकारी दिने तथा पुष्टि गर्ने काम गरिरहेका छैनन् ।
घटनाको प्रकृति हेर्दा मादक पदार्थ सेवन गरेर चलाएका कारण गाडी दुर्घटनामा परेको अनुमान गर्न सकिन्छ ।
यसअघि गत असार १८ गते मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट निस्किनेवित्तिकै बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी जेडएस कारले एक्कासी तीव्र गति लिँदा गम्भीर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा पूर्वरक्षामन्त्री समेत रहेका नेृपाली कांग्रेसका नेता भीमसेन दास प्रधानमन्त्री पत्नी विद्या वनमाली प्रधान गम्भीर घाइते छिन् । उनको अहिलेसम्म पनि उपचार भइरहेको छ ।
वनमालीले पार्किङमा कार स्टार्ट गर्नेवित्तिकै अच्चानक प्रतिघण्टा १०० किलोमिटरको गति लिँदा कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनापछि अचेत अवस्थामा रहेकी वनमालीलाई ट्राफिक प्रहरी, प्रहरी र सर्वसाधारणले उद्दार गरी अस्पताल पठाएका थिए । यो दुर्घटना हुनुको मुख्य कारण गाडीको कमजोर प्राविधिक पक्ष भएको अनुमान गरिएको छ । यद्यपि, यसबारे गम्भीर अध्ययन र प्राविधिक परीक्षण गरिनु आवश्यक छ ।
यसअघि गत वर्षको पुसमा बूढानीलकण्ठस्थित देउवाचोकमा चार्जमा राखिएको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजी कम्पनीको गाडीमा आफैं आगलागी भएको थियो । उक्त घटनालाई एमजी मोटर्सको नेपालस्थित आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले गुपचुप राख्न सफल भए पनि त्यसपछिका घटनाहरू लुकाउन अप्ठ्यारो परिरहेको छ ।
पारामाउन्ट मोटर्सका कारहरूको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक ठूलो आवाज आउने, इन्जिन कराउने, बारम्बार मिसफायरको आवाज आउने, समयमा एयरब्याग नखुल्ने र ब्रेक नलाग्ने जस्ता समस्या देखा परिरहेको प्रयोगकर्ताहरूको गुनासो आउने गरेको छ । तर, पटक–पटक गाडीमा प्राविधिक समस्या आइरहेको जनगुनासो आए पनि सरकारी निकाय भने ‘कानुनको अभाव’ देखाउँदै त्यसतर्फ ध्यान दिन नसकिएको बताउँदै आएको छ ।
विश्वका अन्य मुलुकहरूमा दुर्घटना भएपछि सरकारले छानबिन गरेर गाडीको बिक्रीवितरण नै बन्द गराउँदा नेपालमा भने कानुन अभावकै कारण गाडी दुर्घटना तथा प्राविधिक समस्याको विषयमा गुनासो आउँदासमेत छानबिन गर्न नसक्नु दुःखद पक्ष हो ।
त्यसो त एमजीको ईभी कारमा प्राविधिक समस्या नेपालमा मात्रै होइन अस्ट्रेलियामा पनि आएको थियो । सिड्नीस्थित एअरपोर्टमा पार्किङमा राखेको गाडी अचानक विस्फोट भएपछि अस्ट्रेलियाको सरकारले ऊक्त गाडीलाई तत्कालका लागि बित्रीवितरण गर्न रोक लगाएको थियो । अस्ट्रेलियन सरकारले एमजीको गाडीमा ब्याट्रीको गम्भीर समस्या रहेको भन्दै प्रश्न उठाउँदै आएको छ ।
यस्तै भारतमा समेत पार्किङमा र चार्जिङमा राखिएको समयमा विस्फोट भएसँगै यस्ता घटना सार्वजनिक भएका छन् । गाडीमा एकपछि अर्को समस्या आउन थाले पनि वितरक कम्पनीले समस्या पहिचान गर्ने भन्दा पनि आलटाल गर्ने गरेको छ ।
एमजीको ईभी दुर्घटनासम्बन्धी यी समाचारहरू पनि पढ्नुहोस्–
एमजीको ईभी ‘जेडएस’ दुर्घटना : यस्तो छ, पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको वयान !
एमजी कार कनेक्सन लुज हुँदा आगलागी, यसरी गरौँ विद्युतीय गाडीको सुरक्षा !
सम्पादीकय : ईभीमा भन्सार र अन्तःशुल्क घटाऊ, प्राविधिक परीक्षण गर
नक्साल दुर्घटनाका थप तस्बिरहरू–
FACEBOOK COMMENTS