काठमाडौं । असार १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको एउटा भयानक दुर्घटनापछि पूर्वरक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानको परिवार पीडामा रुमलिएको छ ।
छोरीलाई अमेरिका उडाउन विमानस्थल पुगेको यो परिवार फर्किँदा ठूलो पीडा बोकेर फर्किन बाध्य भयो । प्रधानकी श्रीमती विद्या वनमाली प्रधानले चलाएको बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको इलेक्ट्रिक कार ‘एमजी जेडएस’ दुर्घटना हुँदा वनमाली गम्भीर घाइते भएकी छिन् भने उनको हाल नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
नर्भिक अस्पतालले भारतबाट डाक्टरहरू मगाएर उपचार गरिरहेको उनका श्रीमान भीमसेन दास प्रधानले जानकारी दिए । बिहीबार कर्पोरेट खबरसँग कुराकानी गर्दै उनले भने–
मेरी श्रीमती विद्या वनमाली प्रधान गम्भीर घाइते छिन् । हिजो मैले उपचारका लागि इन्डिया लैजान खोजेको थिएँ । तर, नर्भिक अस्पतालले भारतका डाक्टरहरूसँगको सहकार्यबाट आज (बिहीबार) उनको एउटा शल्यक्रिया सम्भव भएको छ । उनी अझै खतरामुक्त रहेको वा नरहेको डाक्टरहरूले हामीलाई केही भन्नुभएको छैन । तर, जसले एमजीको गाडी बेच्नुहुन्छ उहाँहरू अहिलेसम्म हाम्रो अवस्थाबारे जानकारी लिन आउनुभएको छैन, यसले मेरो चित्त दुःखेको छ ।
दुर्घटनालगत्तै त्यहाँबाट प्रहरीहरूले घाइते श्रीमतीलाई उद्धार गरी अस्पताल पठाउनुभयो । मैले एमजीका बिक्रेताहरूलाई तत्काल फोन गरेर तपाइँहरूको गाडी यहाँ यसरी दुर्घटना परेको छ भनेर जानकारी दिएँ । कम्पनीका प्रतिनिधिले हुन्छ हामी आउँछौँ र जानकारी लिन्छौँ भन्नुभएको थियो । तर, अहिलेसम्म उहाँहरू आउनुभएको छैन । कम्पनीसँग मेरो गुनासो त छैन, तर चित्त दुःखाइको विषय भने बनेको छ । यदि म त्यतिबेला त्यो गाडीमा चढिसकेको भए मर्ने थिएँ होला । धन्न बचेँ तर श्रीमती गम्भीर छिन् । अहिले म उनको उपचार र स्वास्थ्यलाभको कामनामा तल्लिन छु । हाम्रो परिवार पीडामा रुमलिएको छ ।
मैले हिजो विमानस्थलको सीसीटीभी पनि हेरेँ । गाडीको ब्रेकलाइट बलिराख्दा पनि गाडी अन्दाजी १०० किलोमिटरको गतिमा दौडिएको देखिन्छ । नियन्त्रणबाहिर रहेको सो गाडीलाई उनले अरु मानिसहरू र धेरै कुराहरूलाई जोगाएर इँटाको भित्तामा ठोकाएको स्पष्ट देखिन्छ । यसले गाडीकै प्राविधिक पक्ष कमजोर भएको हो कि भन्ने मलाई लागेको छ । यद्यपि, यसबारे छानविन र अध्ययनले सत्य र तथ्य के हो पत्ता लगाउला ।
दुर्घटनाबारे थप समाचार पढ्न यो लिंक प्रयोग गर्नुहोस्–
के भन्छ बिक्रेता ?
घटनाबारे प्रतिक्रिया लिन एमजीका इलेक्ट्रिक गाडीहरू नेपालमा बिक्रीवितरण गर्दै आएको प्यारामाउन्ट मोटर्स (एमजी मोटर्स नेपाल) का महाप्रबन्धक सचिन अर्यालसँग कर्पोरेट खबरले टेलिफोन सम्पर्क गरेको थियो । तर, उनी प्रतिक्रिया दिन अनकनाए । सोधिएको प्रश्न नै नबुझेजस्तो गरेर पन्छिन खोजे ।
अफ्ठ्यारो मान्दै उनले हाम्रा प्रतिनिधिसँग यत्ति भनेर फोन काटे–
त्यत्रो ठूलो दुर्घटनाबाट मान्छे ‘सेभ’ हुनुहुन्छ । हामीले भगवानलाई ‘थ्याङ्क्यू’ भन्नुपर्छ । यसलाई ठूलो दुर्घटनाका रूपमा हेरेका छौँ । पछि हामी आफैं आउँछौँ । केही भएमा नयाँ अपडेट गरिहाल्छौँ ।
FACEBOOK COMMENTS