काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले गर्ने लगानीका लागि नयाँ व्यवस्था गरेको छ ।
“घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा केही व्यवस्था थप गरेको छ भने केही व्यवस्था हटाएको छ ।
लघुवित्त वित्तीय संस्थाले अब नेसनल बैंकिङ इन्सटिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न पाउने भएका छन् । यस्तै लघुवित्त संस्थाहरुले संगठित संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न भने पाउने छैनन् ।
यी बाहेकका संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने नयाँ व्यवस्था गरेको छ ।
यस्तै थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका रुपमा कार्य गर्न सक्नेछन् ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने-गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पुर्याएको नमानिने संशोधित निर्देशनमा व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS