काठमाडौं । बैंकको पुहँचमा नपुगेका विपन्न वर्गलाई सेवा दिने तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति बनाउने उद्देश्यले फागुन ५ र ६ गते राजधानीमा चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ ।
स्वावलम्बन विकास केन्द्रले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । सम्मेलनमा नियामक निकाय, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही, जनप्रतिनिधि गरी सात सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी ७ सय जना भन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
पछिल्लो समय केही समस्या देखिएकाले त्यसलाई पहिचाहन गर्दै निराकरण गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिए । ‘लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने आवश्यक्ता देखिएको छ’ उनले भने, ‘त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौं ।’ त्यसका लागि सम्मेलनको नारा नै स्वस्थ लघुवित्त, समृद्ध सदस्य राखिएको उनले बताए ।
विश्वका १७८ ओटा देशमा संचालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुर्नसंरचनाका लागि उपयुक्त रहेको श्रेष्ठले दावी गरे । तर, पछिल्लो समय देखिएका केही विकृतीले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी देखिएको उनले औंल्याए ।

त्यसैले सम्मेलन लघुवित्त सेवालाई स्वस्च्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रकोरुपमा अगाडी बढाउने उपायहरु खोज्न केन्द्रित हुनेछ । यसको साथै हरेक लघुवित्त संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने तर्फ विशेष जोड दिने उनले बताए । अहिले युवापुस्ताहरुमा विदेशीने लहर चलेको भन्दै त्यसलाई रोक्न लघुवित्तले भूमिका खेल्नुपर्ने उनको जोड थियो ।

लघुवित्त संस्थाहरुले वित्तीय सेवासँगै शिक्षा, तालिम, सामाजिक कामहरु गर्नुपर्नेमा आफ्नो भूमिका विर्सिदै गएको श्रेष्ठले गुनासो गरे । लघुवित्तले बढी ब्याज लिएको गुनासो सुनिए पनि यो ब्याजदर दक्षिण एसियामै न्यून रहेको उनले दावी गरे ।

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५०८२ शाखाहरु मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले चार खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।
तर, देशको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता, लघुवित्त कारोबार गर्ने संस्थाहरुबीच अधिक प्रतिस्पर्धा, लघुवित्त प्रति आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने समूहको सक्रियता लगायतका कारण नेपालको लघुवित्त क्षेत्र विषम परिस्थितीबाट गुज्रिरहेको छ । यस्तै लघुवित्त सञ्चालन गर्ने संस्थाहरुको कर्जा असुली प्रभावित हुँदा खराव कर्जा बृद्धि भइरहेको छ । लघुवित्त सेवा प्रति समाजमा फैलिएको गलत सन्देशका कारण व्यवसाय विस्तार गर्न अप्ठेरो परिस्थिती सिर्जना भएको बताइएको छ ।
कोभिड-१९ को महामारी र जलवायु परिवर्तनको कहर, रोजगारीको अभाव, विदेशिदो युवा श्रम शक्ति तथा उपभोग्य बस्तुको वढ्दो आयात, विभिन्न देशविच बढेको द्वन्द्वका कारण सिर्जना भएको आर्थिक मन्दीले प्रभावित भएका तल्लो वर्गका विपन्न नागरिकहरुलाई माथी उठाउने दायित्व लघुवित्त संस्थाहरुमाथी थपिएको छ ।
यो अवस्थामा लघुवित्तमा देखा परेका समस्या र चुनौतिको लेखाजोखा गरी लघुवित्त क्षेत्रलाई समय सापेक्ष बनाउन सबै सरोकारवालाहरु एकै थलोमा बसेर आ–आफ्ना भोगाई, सिकाई, अनुभव र ज्ञानहरुको आदान प्रदान र विचारहरुको मन्थन गर्न सम्मेलन प्रभावकारी हुने आयोजकले दावी गरेको छ ।