काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूची विवादपछि उम्मेदवारले नाम फिर्ता लिनेक्रम जारी रहेको छ ।
पछिल्लो पटक समानुपातिक सूचीमा रहेका मिलन लिम्बुले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिदै लिम्बुले भनेका छन्, ‘संविधानमा सुनिश्चित समानुपातिकरसमावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिवद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै मैले समानुपातिकतर्फ उम्मेदवारी दिएको थिए । तर, एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ । नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता(कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ ।’
रास्वपाको समानुपातिक सूचीमा सेलिब्रेटीलाई स्थान दिएको र संबिधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वको मर्म विपरितका उम्मेदवार सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भएपछि उम्मेदवारहरुले नाम फिर्ता लिइरहेका छन् ।
यसअघि डा. अरनिको पाँडे, टासी शेर्पा, गायिका त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

FACEBOOK COMMENTS