पछिल्लो समय समाजसेवाका क्षेत्रमा धेरै व्यक्ति–व्यक्तित्वहरू जोडिने क्रम बढेको छ । आफूसँग भएको रकमबाट खर्च कटाएर दिनदुःखीहरूलाई सहयोग गर्ने परिपाटी फेरिएर मध्यस्तकर्ता बनेर पनि सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । कतिसम्म भने आफूले एक रुपैयाँ पनि समावेश नगर्ने तर अरुसँग पैसा उठाएर लक्षित वर्गलाई सहयोग जुटाउने क्रम पनि तीव्र बन्दै गएको छ । वास्तवमा सामाजिक सेवा के हो ? कसरी गर्ने ? भएकाले भन्दा नभएका धेरैले सामाजिक काम गरिरहेको पाइन्छ यस्तो हुनु कत्तिको सकारात्मक वा नकारात्मक हो ? यिनै विषयमा कर्पोरेट खबरले समाजसेवीसँगै केही तथ्यहरू केलाउने प्रयत्न गरेको छ । त्यसका लागि हामीले समाजसेवी एवम् हिमालय अर्गनाइजेशकी प्रबन्ध निर्देशक मिलन थापासँग विस्तृत कुराकानी गरेका छौँ । प्रस्तुत छ, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘बी’ वान नेपालका लागि सेकेन्ड भाइस गभर्नरमा निर्वाचित समेत भइसकेकी लायन्स क्लब अफ सेतीगण्डकी ३२५ ‘बी’ वानकी लायन्स वेलफर बैंक चिफ थापासँग कर्पोरेट खबरका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंशः–
समाजसेवामा कसरी लाग्नुभयो ?
म र मेरो परिवार दुई दशकअघिदेखि अटोमोबाइल व्यवसायमा आवद्ध छौँ । व्यवसायसँगै सामाजिक सेवामा पनि लाग्नुपर्छ भन्ने मान्यताका साथ १५ वर्ष अघिदेखि समाजसेवामा जोडिदै आएको छु । जुन समाजसेवा गर्नका लागि मैले पहिलो खुट्किलोका रूपमा शुरूमा लायन्स क्लबलाई रोजेँ । लायन्स क्लब अफ सेती गण्डकीमा आबद्ध भएर मैले आफ्नो समाजसेवाको यात्रा आरम्भ गरेकी हुँ । लायन्स क्लब अफ सेतीगण्डकी ३२५ ‘बी’ वानअन्तर्गत पर्दछ ।
लायन्स क्लबको कुन भूमिकामा रहेर काम गरिरहनुभएको छ ?
म अहिले लायन्स वेलफर बैंक चिफका रूपमा कार्यरत छु । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘बी’ वान नेपालको सन् २०२२÷०२३ का लागि सेकेन्ड भाइस गभर्नरका लागि इलेक्टेड समेत भइसकेकी छु । सामाजिक कार्यहरूका लागि मलाइ प्राप्त पद र यसअघि डिस्ट्रिक्ट गभर्नरज्यूहरूले ल्याउनुभएको कार्यक्रम र योजनाहरूमा सक्रियतापूर्वक काम गर्दै आएको छु । जुन काम बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउने तथा गाउँ–गाउँमा महिला तथा युवाहरूलाई उद्यमतर्फ लाग्न प्रेरित गर्न केन्द्रित रहँदै आएको छ ।
लायनहरूले तिर्ने ड्युजमार्फत थुप्रै पैसा विदेसिन्छ, सहयोगका नाममा त्यही पैसाको केही अंशमात्रै नेपाल आउँछ भनिन्छ । त्यो पैसाले कुन–कुन क्षेत्रमा के–के काम गर्छ ?
लायन्स क्लबले नेपालमा दिन दुःखीहरूको सेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ । अमेरिकाबाट जन्म भएको यो क्लबमा अहिले ४६ हजार जना भन्दा बढी नेपाली लायन्स क्लबको सदस्य बनिसक्नु भएको छ । मेल्भिन जोन्स सेक्रेटरीको रूपमा रहेर शुरुवात गर्नुभएको यो संस्था १०५ वर्ष पुरानो भइसकेको छ । सोही मुताविक यसले आफ्नो विश्वसनीयता पनि वृद्धि गर्दै लगेको छ ।
यो क्लबले सामाजिक सेवाका लागि आर्थिक स्रोत कसरी व्यवस्थापन गर्छ ?
यो क्लबसँग आबद्ध सबैले ड्युज तिर्नु पर्दछ । अहिले नेपालमा जति जना लायनहरू हुनुहुन्छ उहाँहरू सबैले प्रतिमहिना ४३ अमेरिकी डलर तिरिरहनुभएको छ । हामीले यसरी तिरेको रकमहरूबाटै यसले आफ्नो सम्पूर्ण गतिविधिहरू अगाडि बढाइरहेको छ । हामीले तिरेको सोही ड्युज कुनै प्राकृतिक डिजास्टरहरू हुँदा एकमुष्ट वा आवश्यकता अनुसार सेवाका लागि नेपाल आएको हुन्छ । जस्तो २०७२ सालको भूकम्पको समयमा हामीलाई नेपालमा १४ वटा विद्यालय भवनहरू बनाउनका लागि ठूलो रकम आएको थियो । साथै यसले सामान्य रूपमा आफ्नो गतिविधिहरू पनि वर्षैभरी गरिरहेको हुन्छ ।
विद्यालय र अस्पतालहरू बनाउन तथा अन्य विभिन्न कार्यक्रमहरूको शीर्षकमा हामीले लायन्स क्लबमार्फत नेपालमा धेरै रकम भित्र्याएका छौँ । लायन्स क्लब इन्टरनेशनलबाट रकम लिनका लागि प्रोजेक्ट प्रपोजलहरू पठाउँछौँ त्यसलाई स्पष्ट र पारदर्शी बनाउन सक्यौँ भने धेरै रकमहरू ल्यान सक्छौँ । त्यसमा नेपाली लायनहरूकै योगदान गरेको हुन्छ ।
सामाजिक सेवाका लागि लायन्स क्लबबाट नेपालमा रकम ल्याउन कत्तिको सहज छ ?
सजिलो त छैन । यद्यपि समाजसेवाका लागि ठूलो मञ्च लायन्स क्लब भएका कारण यसका प्रक्रियाहरू धेरै लामो हुनु स्वाभाविक पनि हो । जुन प्रोजेक्ट हामीले अप्लाइ गरेका हुन्छौँ त्यसका लागि हामीले धेरै नै पहल गर्नुपर्दछ । जति रकमको प्रोजेक्ट अप्लाइ गरिएको छ, त्यसको ३० प्रतिशत पहिल्यै हामीले नेपालबाट डिपोजिट गर्नुपर्दछ । लक्षित काम सकिएपछि सम्पूर्ण बिलभरपाइ फर्च्योट गरेर अन्तर्राष्ट्रियमा पठाएपछि मात्रै उहाँहरू सम्बन्धित प्रोजेक्टको अवलोकन भ्रमणमा आउनुहुन्छ । त्यसपछि मात्रै यहाँबाट प्रस्ताव गरिएको रकम पास गर्ने प्रचलन छ । कतिपय कागजात नमिल्दा धेरै रकमहरू फिर्ता गएको अवस्थाहरू पनि हामीसँग छन् ।
लायन्सलाई धनीहरूको मात्रै क्लब हो भनेर बुझ्ने गरिन्छ । साँच्चै यो क्लबमा लेबी बुझाउन नसक्नेहरू पनि अटाउन सक्छन् त ?
समाजसेवा गर्ने प्लेटफर्ममा धनीहरूमात्रै हुन्छन् भन्ने कुरा बिलकुल गलत विश्लेषण हो । अर्को सत्य कुरा के हो भने समाजसेवाका लागि धनी भएर मात्रै पुग्दैन, समाजसेवाका लागि त मन ठूलो कुरा हो । त्यसकारण मन भएकाहरू सबै यो लायन्स क्लबमा अटाउन सक्छन् । पैसाको योगदानले मात्रै पूर्ण समाजसेवा हुँदैन, धन नहुनेहरूले फिल्डमा खटेर पनि योगदान गर्न सक्दछन् । एउटा धन नभएको व्यक्तिले अर्को धन र मन भएको मानिसलाई समाजसेवामा जोड्न सक्छ । त्यसकारण मेरो विचारमा लायन्स क्लबमा धनीहरूमात्रै छैनन् । सहयोग गर्ने मात्र होइनन्, प्राप्त गर्नेहरू पनि यहाँ काम गरिरहनुभएको छ ।
महिला सशक्तिकरणका लागि संस्था नै खोलेर समाजसेवा गर्दै आउनुभएको छ । सञ्जिवनी केन्द्रबारे केही बताइदिनुहोस् न ?
विशेषगरी पोखराका हामी १३ जना महिलाहरूले विभिन्न वर्गका महिलाहरूको हकहित र अधिकारका लागि दुई वर्षअगाडि सञ्जिवनी दिदीबहिनी केन्द्र स्थापना गरेका हौँ । पिछडिएका र लेखपढ गर्न नपाएका महिला दिदीबहिनीहरूका लागि काम गर्ने यसको मुख्य उद्देश्य छ । छोटो अवधिमा पनि यो संस्थामार्फत हामीले धेरै महिला दिदीबहिनीहरूलाई सहयोग गर्न सफल भइसकेका छौँ ।
सञ्जिवनी केन्द्रमार्फत कति जना महिलाहरूले सहयोग पाउनुभयो त ?
जतिबेला हामीले यो संस्था स्थापना गर्यौँ त्यतिनै बेलादेखि नेपाल विश्वव्यापी कोरोना भाइरस संक्रमणको महामारीबाट गुज्रियो । बितेको दुई वर्ष नेपाल कोरोना महामारीको चपेटामा परिरहँदा हामीले त्यसबाट प्रभावितका लागि महिला वा पुरुष नभनीकन काम गर्यौँ । यो अवधिमा हामीले यति नै भनेर संख्या किटान गर्न नसके पनि कोभिड–१९ बाट जोखिममा परेका महिला र उहाँहरूका परिवारमा रहनुभएका धेरै जनालाई सहयोग गरेका छौँ । एक व्यक्तिले अर्को व्यक्तिलाई टाढैबाट हेर्ने अवस्थामा हाम्रो यो संस्थाले फिल्डमै खटिएर प्रभावकारी काम गरेको छ । आर्थिक अवस्था कमजोर भएकादेखि अस्पताल नै पुर्याउन नसकिएकाहरूसम्मलाई हामीले आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग प्रदान गरेका छौँ । त्यतिबेला हामीले महिला वा पुरुष भनेनौँ, केवल सहयोग गर्यौँ ।
समाजसेवाबाट कत्तिको आत्मसन्तुष्टि मिलेको छ ?
गर्न धेरै बाँकी छ । जति गर्न सकियो त्यसमा हामी सन्तुष्ट छौँ । सहयोग प्राप्त गर्नेहरू पनि हामीसँग खुशी रहनुभएको पाएका छौँ । जसले सहयोग प्राप्त गर्नुभयो उहाँहरूले थप अरुलाई पनि सहयोगको खाँचो छ भन्दै सिफारिस गर्नुहुन्छ त्यसबाट हामी अझ उत्साहित भइरहेका छौँ भने हामीबाट सहयोग लिनुभएका स्वयम् व्यक्तिहरू पनि एक हिसाबले समाजसेवी बन्नुभएको छ । यसले हामीलाई गर्बिलो समेत बनाएको छ ।
जसलाई सामाजिक सेवा प्राप्त गर्नुपर्ने खाँचो छ उसले देखाउने द्वैध चरित्रबारे के भन्नुहुन्छ ? तपाइँहरू त्यो प्रवृत्तिबाट कत्तिको पीडित हुनुहुन्छ ?
समाजसेवा गर्न अगाडि सरिसकेपछि उसलाई दिने त्यसलाई नदिने भन्ने कुरा आउँदैन । लिने कुरा उहाँहरूको आवश्यकता र विवेकमा भर पर्ने कुरा हो । तर, यदि तपाइँले काम गर्न गाह्रो मानेर अरुको भरमा बाँचिरहनुभएको छ भने त्यो चाहिँ बिलकुल गलत हो । कृपया त्यसो नगरिदिनुहोस् भन्न चाहान्छु ।
समाजसेवाका लागि स्रोतहरू कसरी जुटाउनुहुन्छ ?
संस्थाका संस्थापक हामी दिदीबहिनीहरूकै बीचमा केही रकम सङ्कलन गरी बैंकमा जम्मा गरेका छौँ । त्यसबाट प्राप्त हुने ब्याज रकमले हाम्रा गतिविधिहरू सञ्चालन गरिरहेका छौँ । साथमा हङकङ, अमेरिका, बेल्जियम, यूके र अन्य थुप्रै मुलुकमा रहनुभएका नेपाली दिदीबहिनीहरूलाई पनि हामीले प्रत्यक्ष वा परोक्ष रूपमा यो अभियानमा जोडेका छौँ । उहाँहरूले पनि आफ्नो सञ्जालबाट र व्यक्तिगत रूपमै पनि केही रकमहरू पठाउनुहुन्छ । आवश्यकतालाई हेरी बेलाबखत हामीले पनि थप रकमहरू योगदान गरिरहेका हुन्छौँ । यसैबाट हामीले हाम्रो संस्थाका गतिविधिहरूलाई निरन्तरता दिँदै आएका छौँ ।
समाजसेवा कसरी गर्ने हो ? पुगीसरी आएपछि कि मध्यस्तता बनेर हो ?
समाजसेवा आफैंमा गलत कुरा होइन, चाहे जसरी गर्नुहोस् । तर, पारदर्शीता मुख्य कुरा हो भन्ने मेरो बुझाइ छ । दिने मान्छेहरूका बीचमा पुगेर ल्याउनु र प्राप्त गर्नुपर्ने मान्छेलाई उपलब्ध गराउनु पनि नराम्रो कुरा होइन । उहाँहरूले कसैलाई विश्वास गर्नुभएको छ भने त्यस्ता व्यक्तिले पारदर्शीतालाई ध्यान दिनु र दातालाई विश्वास दिलाउनु जरुरी छ । मैले अगाडि पनि भनिसकेँ कि समाजसेवा धन भएकाहरूले मात्र होइन मन भएका र धन नभएकाहरूले पनि आफ्नो गक्षअनुसार गर्न सक्नुहुने छ ।
तपाइँहरू त सञ्चार क्षेत्रमा पनि संलग्न हुनुहुन्छ । कहाँबाट कसरी बन्यो योजना ?
प्रतिष्ठित महिला उद्यमीहरूको पोखरामै भएको एउटा भेलामा यो प्रसङ्ग उठेको थियो । उक्त प्रसङ्गलाई सबैले चासोपूर्वक लियौँ । महिला सशक्तिकरण र जनचेतनाका लागि साँच्चै मिडियाको क्षेत्र प्रभावकारी हुने देखेर १८ जना महिला दिदीबिहनी मिलेर ‘रेडियो जननी ९०.६’ पोखरामा स्थापना गरेका छौँ । जहाँ महिला मात्रै कार्यरत हुनुहुन्छ । पत्रकार, कर्मचारी र रेडियोमा आवश्यक सबैजना महिला नै हुनुहुन्छ ।
रेडियो जननीमा विशेषगरी के–कस्ता सामग्रीहरू प्रशारण गरिन्छ ? त्यसको प्रभाव कस्तो पाउनुभएको छ ?
विशेषगरी महिला उद्यमीहरूको सफलतालाई केन्द्रित गरेर रेडियो सामग्रीहरू प्रशारण गरिँदै आएको छ । हामीले जुन उद्देश्य राखेर रेडियो सञ्चालन गरेका थियौँ त्यस अनुसार सफलता पाउँदै गएका छौँ । महिलासँग सम्बन्धित धेरै कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएका छौँ, जसले महिलाहरूमा नयाँ जोश र ऊर्जा थपेको हामीले पाएका छौँ ।
FACEBOOK COMMENTS