चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन् ।
यहाँ रहेका ११५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् ।
असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । ‘दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ,’ उनले भने ।
हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ ।
दुग्ध विकास बोर्डबाट यहाँका किसानले रु ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगले दुई करोड रुपैयाँ र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रुपैयाँ रकम बाँकी रहेको छ । यहाँ दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको बगालेले जानकारी दिए । तर, अहिले दूध खपत हुन कठिन भएको उनको भनाइ छ ।
यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । अन्य दूध जिल्लामै खपत हुने गरेको उनले जानकारी दिए । ‘किसानले भुक्तानी नपाउँदा समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्नेमा छौँ,’ उनले भने ।
FACEBOOK COMMENTS