काठमाडौं । दुग्ध क्षेत्रका समस्याका दीर्घकालीन समाधान खोजिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
दुध तथा दुग्धजन्य पदार्थको मूल्यबृद्धिलाई नै समस्या समाधानका मुख्य अस्त्र ठान्ने गलत प्रबृत्तिका कारण नै दुध तथा दुग्धजन्य पदार्थको आन्तरिक खपत घट्नुका साथै निर्यातमा समेत प्रभावित भएको विज्ञ तथा सरोकारवालाको जोड छ ।
राजधानीमा आयोजित वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान सम्वन्धि सरोकारबालाबीच अन्तरक्रिया यस्तो सुझाएका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र प्रसाद यादवले कतिपय डेरी व्यवसायीकै कारण दुग्ध क्षेत्रका समस्या समाधान हुन नसकेको बताए ।
दुग्ध तथा दुग्धजन्य पदार्थको गुणस्तर, विविधिकरण र बजारीकरणमा व्यवसायीतर्फबाट खासै पहल र प्रयास नभएको उनको भनाइ थियो । कार्यकारी निर्देशक यादवले भने “अन्य क्षेत्रको तुलनामा नेपाल क्षेत्र धेरै मर्यादित व्यवस्थित छ, अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ तर पनि समस्या किन आइरहेका छन् भने व्यवसायीमा दुरदृष्टि भएन, इमान्दारिता देखिएन । यहाँ समाधानभन्दा पनि किसानका नाममा राजनीति हुने गरेको छ । गुणस्तर, बजारीकरण र विविधिकरणमा चासो दिइएन ।”
दुध तथा दुग्धजन्य पदार्थ खपत बढाउन व्यवसायी–व्यवसायीबीच पनि सम्वन्ध विस्तार गर्न हुनुपर्नेमा यादवको जोड छ । उनले भने, “गुणस्तरमा किन ध्यान दिइएन ? किन यहाँका तारे होटलहरुमा स्वदेशी दुध तथा दुग्धजन्य पदार्थ खपत छैन ? यस्ता काम सरकारले गर्ने होइन, व्यवसायी आफैं गर्नुपर्ने काम हो । अर्को कुरा सरकारले त नीतिगत सहजीकरण गर्ने हो, गरिरहेकै छ।”
डेरीविज्ञ तथा कतिपय डेरी व्यवसायीलेसमेत दुग्ध क्षेत्रको समस्या समाधानका लागि मूल्यबृद्धि नभइ उत्पादन लागत घटाउनुपर्नेमा जोड दिएका छन् । दुग्ध विकास संस्थानका पूर्व महाप्रवन्ध सियाराम प्रसाद सिंह, अजवलाल यादव, डेरीविज्ञ नारायण श्रेष्ठले पनि दुध तथा दुग्धजन्य पदार्थको उत्पादन लागत घटाएर गुणस्तरमा ध्यान दिएमा आन्तरिक खपत पनि बढ्ने र निर्यात संभावना पनि बढ्ने बताए । छिमेकी मुलुक भारतभन्दा नेपालमा मूल्य प्रतिलिटर १३ रुपैयाँ महँगो रहेको उनीहरुको भनाइ थियो ।
एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सरकारले अनुदान दिएमा नेपालबाट दुध तथा दुग्धजन्य पदार्थ बंगलादेश निर्यात संंभावना रहेको बताउनुभयो । भारत बंगलादेश, श्रीलंकालगायतमा निर्यात संभावना हुँदा हुँदै पनि बढी भएकै कारण निर्यात गर्न नसकिएको उनको भनाइ थियो ।
दुग्धजन्य पदार्थ बिक्री नभएकै कारण किसानलाइ भुक्तानी दिन नसकिएको भन्दै उहाँले सरकारले सहुलियत कर्जा उपलव्ध गराएमा किसानलाई भुक्तानी दिन डेरी व्यवसायी तयार रहेको पनि बताए ।
केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, पशुपक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी र पशु सेवा विभागका पूर्व महानिर्देशक डा लोकनाथ पौडेलले किसानको भुक्तानीमा ढिलाइ गरिए दुग्ध क्षेत्र झनै संकटमा पर्ने भन्दै तत्काल भुक्तानी व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधानमा लाग्नुपर्ने बताए । कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले डेरी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र कृषि उद्यम केन्द्रले पहल गर्ने बताए ।
FACEBOOK COMMENTS