काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
दशैं मनाउन उपत्यकामा बसोबास गर्ने सर्वसाधारण धमाधम आ–आफ्नो जिल्ला फर्किन थालेपछि सार्वजनिक यातायातका साधनमा यात्रुको चाप बढ्न थालेको हो ।
दशैंको मुख्य दिन नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने यातायात व्यवसायी तथा सम्बद्ध निकायको अनुमान छ । यस वर्ष दशैंका लागि काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ ।
उपत्यकामा अध्ययन, रोजगारी, व्यवसाय तथा अन्य कामका लागि बसोबास गर्दै आएका नागरिक दशैं मनाउन घर फर्किनेभएकाले केही दिनयता बसपार्क तथा प्रमुख सडकमा यात्रुको आवागमन बढेको हो ।
दशैंमा उपत्यका छाड्ने यात्रुको व्यवस्थापनका लागि पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको उच्चस्तरीय अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार यस वर्ष करिब १० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले चाडपर्वको समयमा हुने यात्रुको ओहोर दोहोर प्रक्षेपण, सवारी जाम र दुर्घटना, क्षमताभन्दा बढी यात्रु बोक्ने, चालकले पर्याप्त आराम नगरी लामो समयसम्म सवारी चलाउने, सवारी साधनको माग र आपूर्ति, टिकट तथा भाडामा कालोबजारी, जोखिमयुक्त सडकको अवस्था तथा दीर्घकालीन समाधानका उपायहरूको समग्र अवस्था सार्वजनिक गरेको छ ।

पूर्वानुमानका आधारमा यस चाडपर्वको अवधिमा काठमाडौं उपत्यका छोड्ने कुल यात्रु संख्या १० लाखभन्दा बढी रहने अनुमान गरिएको छ । यो संख्यालाई गन्तव्यसम्म पुर्याउनका लागि न्यूनतम ४३ हजार ५७४ देखि अधिकतम ६५ हजार ३६१ वटा सार्वजनिक सवारी साधनका ट्रिपहरू परिचालन गर्नुपर्ने प्रतिवेदनमा प्रष्ट पारिएको छ ।

विशेष गरी घटस्थापनादेखि नवमीसम्म काठमाडौंबाट बाहिरिने यात्रुहरूको चाप अत्याधिक हुने गरेको उल्लेख गरिएको छ ।
दशैं अवधिमा सार्वजनिक यातायातबाट उपत्यका छाड्ने यात्रुको चाप घटस्थापनाअघि नै सुरु हुनेछ । असोज १९ देखि २४ गतेसम्म क्रमश: यात्रुको संख्या बढ्दै जाने र घटस्थापनापछि चाडपर्वको चाप कायम रहने अनुमान गरिएको छ ।
दशैंका लागि ठूलो संख्यामा नागरिक उपत्यकाबाट बाहिरिँदा यातायात क्षेत्रमा मात्रै नभई समग्र अर्थतन्त्रमा समेत यसको प्रभाव देखिन्छ । यात्रु आवागमन बढेसँगै सार्वजनिक यातायात, इन्धन, होटल तथा रेस्टुरेन्ट, खुद्रा व्यापार र विभिन्न सेवा क्षेत्रमा कारोबार बढ्ने गर्छ ।
त्यसैगरी घर फर्किने यात्रुले गाउँघरमा दसैंका लागि कपडा, खाद्यान्न, उपहार तथा अन्य सामग्री लैजाने भएकाले दसैंअघि बजारमा उपभोग बढ्ने गर्छ । शहरबाट गाउँतर्फ पैसा र उपभोग्य सामग्री जाने भएकाले दसैंलाई ग्रामीण अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिन्छ ।
बाढीपहिरोले सडक यात्रामा चुनौती
यस वर्ष भने दशैंको यात्रा विगतको तुलनामा केही चुनौतीपूर्ण हुने देखिएको छ । पछिल्लो समय आएको बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । कतिपय सडक अवरुद्ध छन् भने कतिपय सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
यातायात व्यवसायीहरूले दसैंमा यात्रुको चाप बढ्ने भएकाले सडकको अवस्थाबारे नियमित जानकारी लिनुपर्ने बताएका छन् ।
सडकको अवस्था सहज नभएकै कारण यस वर्ष अग्रिम टिकट बुकिङ खुलाउने समय निर्धारण गर्दा पनि सम्बन्धित निकायले सडकको अवस्था र मौसमलाई ध्यान दिएको छ । यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी सञ्चालन गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।