काठमाडौं। मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता भने हराएको छैन। हराउनु पनि हुँदैन। मानिसमा मानवीयता कायमै रहेको संकेत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन्।अहिले पनि धेरै मानिसहरू दुखी र पीडित छन्।
कतिपयलाई एकसरो लगाउन र एकछाक खान पनि मुस्किल छ, औषधी उपचार गर्न त परको कुरा। यस्तो मानवीय संकटको घडीमा एक सत्य उजागर भएको छ। हराउँदै गएको मानवता फेरि एकपटक देखिन थालेको छ। भौतिकवादीसमेत आध्यात्मिकवादतर्फ उन्मुख देखिन्छन्।
हरेकले आफ्ना धर्मग्रन्थहरू कोट्याउन थालेका छन्। अहिले भगवान् मन्दिरमा नभई दुखी पीडितहरूको घर आँगनमा देखिन थालेका छन्।
भगवान् मानवरूपी जीवन नै रहेछ भन्ने महसुस राहत पाएका बेसहाराहरूले गरेका छन्। यस्तै संकटको सारथिको रूपमा देखा परेकी छन् – समाजसेवी मीना राणा। समाजसेवामा सक्रिय मीना राणाले पछिल्लो सयमा असाहाय तथा आर्थिक अवस्था कमजोर रहेकाहरूको सहयोगमा तल्लीन छिन्। केही दिनअघि उनले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू प्रदान गरेकी हुन्।
सुकुम्वासी बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित नहुन भनेर डसना, तन्ना र ब्ल्याङकेट वितरण गरिएको हो। यस्तै पछिल्लो समय उनले एकजना शिशुको उपचारको लागि ४ लाख रुपैयाँ सहयोग गरेकी छिन्। समाजसेवी मिना राणाले दुवै मिर्गौला फेल भएका झापा भद्रपुर–९ का ४५ दिनका शिशु सुज्ञान गिरीको उपचारमा आर्थिक सहयोग गरेकी हुन्।
काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा गएर राणाले उपचार खर्च चार लाखभन्दा बढी सहयोग गरेकी हुन्। शिशुको अहिले उपचार भइरहेको छ। समाजसेवी राणाले आफ्ना तीन जना छोराछोरीहरू मेभान शमशेर, स्वीकृति राज्यलक्ष्मी र सुर्याय शमशेर राणाको जन्मदिनको खर्च कटाएर उपचारमा आर्थिक सहयोग गरेकी हुन्।
अरू ठाउँमा रहेका विपन्न परिवारलाई सहयोग गर्ने मिना राणाले बताइन्। आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्तिहरूलाई आउँदा दिनमा पनि सहयोग गर्ने मिना राणाले प्रतिबद्धता जनाएकी छिन्।
यसअघि विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कमान्डर बनेर सक्रिय थिए। मीना पनि उत्तिकै भूमिका निर्वाह गरिरहेकी थिइन्। त्यतिबेला कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनका कारण नेपाल पनि मानवीय सङ्कटमा थियो। एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य थिए। मजदुरीको लागि सहरमा रहेकाहरू खानकै समस्या भएपछि सयौँ किलोमिटर टाढाको दूरी हिँडेर घर जान बाध्य थिए। त्यो समयमा पनि उनले सहयोग गरेकी थिइन्।
FACEBOOK COMMENTS