काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।
“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ”, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।
प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ । दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले पर्सि प्रस्तुत गर्नेछन् । समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।
FACEBOOK COMMENTS