काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पियुष गोयलबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।
चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल–भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनीहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको र सो सम्बन्धमा दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ ।
नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराए ।
भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिए । आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो ।
FACEBOOK COMMENTS