काठमाडौं, भदौ २३ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले दिगो विकास लक्ष्यले सबैका लागि सस्तो, विश्वासिलो, दिगो र आधुनिक उर्जाको सुनिश्चितता गरिने बताउनु भएको छ ।
लगानी बोर्डको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले जलस्रोतको उत्तम सदुपयोग गर्दै जतिसक्दो छिटो देशमा उर्जा उत्पादनको सम्भावनालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो ।
‘यो कार्य सरकार एक्लैले पुरा गर्न सक्ने देखिंदैन तसर्थ देशमा ऊर्जाको विद्यमान सम्भवनालाई साकार पार्न निजीक्षेत्रसँग साझेदारी गर्नुपर्छ’ मन्त्री भूषालले भन्नुभयो । नेपालमा सार्वजनिक निजी साझेदारीको व्यवस्थापनको लागि मुख्य निकायको रुपमा लगानी बोर्ड रहेकोले यस अवधारणाको कार्यान्वयनमा सरकारको प्रयासहरुलाई बोर्डले प्रभावकारी तरिकाले सम्पादन गर्ने आशा व्यक्त गर्दै मन्त्री भूषालले निजी क्षेत्रलाई जलस्रोतको उत्पादन ÷ उपयोगका लागि आकर्षित गर्न मन्त्रालय र लगानी बोर्ड समेत मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताउनु भयो । पूर्वाधार विकासलाई तीब्ररुपमा अगाडि बढाउन बोर्डले लगानीयोग्य परियोजनाहरुको सूची तयार गरेको जानकारी गराउनुभयो । ‘यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पुरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ’ भट्टले भन्नुभयो ‘केही वर्षभित्रै लगानी बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास हुने छ ।
FACEBOOK COMMENTS