काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उनले भने, “पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।”
मातहतका कार्यालयमा रहेको बेरुजु घटाउन दिर्नेशन दिँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने “जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।”
चालु आव २०८१-८२ को प्रथम त्रैमासिक अवधिमा मन्त्रालयअन्तर्गत एक अर्ब ६४ करोड ९८ लाख बजेटमा ५१ दशमलव ९३ प्रतिशत खर्च भएको छ । यस अवधिमा ४१ दशमलव ६ प्रतिशत पुँजीगत खर्च र चालुतर्फ ५२ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।
मन्त्रालयको प्रमुख छ वटा कार्य क्षेत्रका १९ निकायहरूमार्फत भएका कामका सम्बन्धमा बसेको बैठकमा मन्त्री गुरुङले कर्मचारीलाई परम्परागत कार्यशैली परिवर्तन गर्न सुझाव दिए । “सबै काम पारदर्शी हुनुपर्छ । अनेक बहानाबाजी गरेर काम अड्काउनु हुँदैन । कर्मचारीतन्त्रमा भएका समस्या अब सुधार हुनुपर्छ, नयाँ ढङ्गले काम गरौँ”, उनले भने ।
FACEBOOK COMMENTS