काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा मन्त्री खनालले विनाशकारी बाढीपछि नेपाललाई निरन्तर साथ, ऐक्यबद्धता र सहयोग प्रदान गरेकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा अस्ट्रेलियाको निरन्तर साझेदारीको अपेक्षा व्यक्त गर्दै क्षति तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोगमा पहुँचका लागि समेत सहकार्य गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
राजदूत अर्न्स्टले नेपाललाई विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग जारी राख्ने अस्ट्रेलियाको प्रतिबद्धता दोहोर्याउदै विपद् प्रतिरोधी क्षमता बढाउन व्यावहारिक सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । अस्ट्रेलिया सरकारले प्रदान गर्दै आएको अस्ट्रेलिया अवार्ड छात्रवृत्ति तथा दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि राजदूत अर्न्स्टले प्रतिबद्धता जनाएका छन् ।
