काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच–छ महिनामा कुनै कायापलट नहुने बताएका छन् । यद्यपि, जनतालाई केही परिवतर्नको महशुस गराएर पद छाड्ने उनको भनाई छ ।
आज मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले मुलुक एक्लैले बनाउन नसक्ने बताए । ‘धेरैलाई लागेको होला म सञ्चारमन्त्री भएपछि के के न हुन्छ होला, ठूलै कायापलट हुन्छ होला’, उनले भने, ‘तर त्यस्तो केही हुनेवाला छैन, म एक्लैले केही गर्न सक्दिनँ, केही गर्नलाई कर्मचारी र जनताको साथ चाहिन्छ ।’
मन्त्री खरेलले तीन वटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताएका छन् । ‘पहिलो फागुन २१ गते चुनाव हुन्छ, त्यो सम्भव गराउनुपर्छ, दोस्रो भ्रष्टाचार नियन्त्रण र सुशासन, तेस्रो ध्वस्त भएका भौतिक संरचनाको पुन:निर्माणमा जोड हुनेछ’, उनले थपे ।
पूर्व पत्रकारसमेत रहेका खरेलले मन्त्रीको पदबहाली गरेसँगै देशका १० वटा मुख्य शहरका सार्वजनिकस्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय पनि गरेका छन् ।
FACEBOOK COMMENTS