काठमाडौं । शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ ।
जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएपछि मन्त्रालयलाई तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको हो ।
सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
शिक्षा मन्त्रालयका कोठाहरु र काठको भर्याङ जलेका छन् । आज शनिबार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।
यसैबीच आगजनीबाट क्षतिग्रस्त गृह मन्त्रालयलाई उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी गरिएको छ ।
सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी थियो, तर प्राथमिकताको आधारमा त्यहाँ गृह मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागिएको हो ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।
FACEBOOK COMMENTS