काठमाडौं । भदौ २३ र २४ गतेको ’जेनजी’ प्रदर्शनका क्रममा अर्थ मन्त्रालयका ४४ वटा गाडी जलाइएको छ । जसमा अर्थमन्त्री चढ्ने दुईसहित १६ वटा गाडी पूर्ण रूपमा जलेका छन् ।
३३ वटामा भने आंशिक क्षति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । मन्त्रालय भवनमा क्षति नभएको भए पनि बजेट महाशाखाको टहरा भने जलेको छ ।
बजेट महाशाखा टहराका १२ वटा कोठा र एउटा हलमा भएका सम्पूर्ण जिन्सी सामग्री जलेर नष्ट भएको छ । यही टहरामा स्टोर रहेकोले त्यो पनि जलेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
जेनजीको प्रदर्शनका क्रममा संसद् भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय जलेर पूर्ण रूपमा क्षति भएको छ । यीबाहेक अन्य मन्त्रालयमा पार्किङ गरिएका गाडी, मोटरसाइकल र स्कुटर जलाइएको छ । कुनै–कुनै मन्त्रालयको भवनमा नै आंशिक क्षति भएको छ ।
FACEBOOK COMMENTS