काठमाडौँ । परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्व एशिया, दक्षिण–पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले सरकारले प्राथमिकतामा राखेका दुई मुख्य विषय—सुशासन र आर्थिक कूटनीति—मा जोड दिएका छन् । उनले प्रविधिमा आधारित सेवा प्रवाहमार्फत सुशासन सुदृढ गर्नुपर्ने र प्रभावकारी आर्थिक कूटनीतिमार्फत मुलुकको हित प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
अन्तरक्रियामा सहभागी राजदूत, वाणिज्यदूत तथा कार्यवाहक प्रमुखहरूले सम्बन्धित देश र निकायसँग नेपालको संलग्नता, सहकार्यका सम्भावना तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले गुणस्तरीय सेवा प्रवाहमार्फत सुशासन सुनिश्चित गर्ने र आर्थिक कूटनीतिलाई सशक्त बनाउँदै देशको समृद्धिमा योगदान गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारेका थिए । उनले नियोगहरूलाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिँदै नवीनता र डिजिटलीकरणमार्फत सेवा प्रवाह अझ प्रभावकारी बनाउन आग्रह गरेको मन्त्रालयले जानकारी दिएको छ ।