धेरै व्यवसायीहरूको सानो–सानो पुँजी जम्मा गरेर दुई अर्ब रूपैयाँ भन्दा बढी लगानीमा निर्माण भएको भव्य व्यापारिक केन्द्र हो पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालि । मुलुकको अर्थतन्त्र समस्यामा पर्दा पनि खासै प्रभाव महसुस नगरेको मलका व्यवसायीहरूले विगत वर्षहरूमाझैँ व्यापार गर्न नसके पनि टिक्नै नसक्नेगरी व्यापार नघटेको बताउँछन् मलका अध्यक्ष मिनराज काफ्ले ।
पर्यटकीय नगरी पोखराको चिप्लेढुङ्गामा अवस्थित मलमा सामान्य खाजा घरदेखि फिल्म हल र चर्चित ब्युटी पार्लरसम्मको सुविधा उपलब्ध छ । यिनै सुविधाका कारण पनि मलका व्यापारीहरूलाई आर्थिक समस्याको भार कम परेको दाबी उनको छ । पोखरा ट्रेड मल गण्डकी प्रदेशकै पहिलो अनि नेपालको दोस्रो ठूलो व्यापारिक भवन भएको र अफ सिजनमा समेत दैनिक पाँच हजारको संख्यामा ग्राहक आउने गरेको अध्यक्ष काफ्लेले बताए ।
विगतमा आफू समेत चोकमा बसेर फेन्सी तथा रेडिमेड कपडाहरू विक्री गरेको, व्यापार राम्रो भएको देखेपछि ५०० प्रतिशतसम्म भाडा वृद्धि गरेको र चरम मर्कामा परेकोलगायत घटनाहरू स्मरण गर्दै अध्यक्ष काफ्लेले चर्को भाडा वृद्धिकै कारण पोखरा ट्रेड मलको परिकल्पना आएको कर्पोरेट खबरसँगको कुराकानीमा बताए । उनी फेन्सी तथा रेडिमेड व्यवसायीका रूपमा २०६३ सालमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य बनेका थिए । त्यसपछि २०६४ सालमा फेन्सी तथा रेडिमेड व्यवसायीहरूलाई समेटेर वस्तुगत संघको स्थापना गरी संस्थापक महासचिव बनेका काफ्ले त्यसको ६ महिनामै अध्यक्ष बनेर लामो समय नेतृत्व गरेको अनुभव छ ।
सुरूमा ट्रेड मलका लगानीकर्ताको लगानी सुरक्षित गर्ने र अहिले उनीहरूको व्यापार प्रवर्द्धनमा चिन्तित रहेका पोखरा ट्रेड मलका अध्यक्षमिनराज काफ्लेसँग कर्पोरेट खबरले विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, विद्यमान अवस्थामा पोखराको व्यापारिक अवस्था र ट्रेड मल स्थापना र सञ्चालनका जटिलतालगायत विषयको सेरोफेरोमा रहेर कर्पोरेट खबरले गरेको कुराकानी:–
पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिको स्थापना कसरी भयो ?
व्यक्तिगत रूपमा म फेन्सी तथा रेडिमेड व्यवसायी हुँ । व्यवसायी भएपछि म २०६३ सालमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिका रूपमा प्रवेश गरेँ । म त्यहाँ जाँदा धेरै साथीहरू विभिन्न वस्तुगत संघहरूबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो । सोही आधारमा मैले पनि २०६४ सालमा फेन्सी व्यवसायी संघ निर्माण गरी त्यसको संस्थापक महासचिव बनेँ र ६ महिनापछि अध्यक्ष बनेर निरन्तर २०६९ सालसम्म पोखराका सम्पूर्ण फेन्सी तथा रेडिमेड (मानवीय पहिरन)का सम्पूर्ण सामग्रीको व्यवसाय गर्ने व्यवसायी साथीहरूको मैले लामो समय नेतृत्व गर्ने मौका पनि पाएँ ।
त्यो बेलामा मलाइ महसुस भएको कुरा के हो भने रेडिमेडका सामानहरू चोकमा राखेर व्यवसाय नगरी व्यापार नहुने, चोक सुरूमा खाली हुने र व्यापारीले व्यापार गर्दै जाँदा राम्रो व्यापार गर्न थालेपछि त्यहाँ डिपोजिट बढी लिइदिने, भाडा सोचेभन्दा धेरै नै लिइदिने अर्थात् ५०० प्रतिशतसम्म बढाइदिन थालियो । यो कारणले व्यापार प्रभावित हुन थालेपछि हामी विकल्प सोच्न बाध्य भयौँ । हामीले तिर्दै आएको भाडामा केही थप गरेर र साथीहरूको बीचमा समूह बनाएर पुँजीलाई एकीकृत गर्दा ठूलो काम गर्न सकिन्छ भन्ने सोचबाट अहिलेको पोखरा ट्रेड मलको परिकल्पना आएको हो ।
संस्थापक अध्यक्ष विन्दु कुमार थापा, स्वयम् म, दिपक मुल्मी, वासुदेव पराजुलीलगायत टीमले गरेको त्यो आह्वानमा हाम्रो त्यो सोचलाई विश्वासका साथ धेरै साथीहरूले लगानी गर्न तयार हुनुभयो । उहाँहरूले हाम्रो सोच र प्रस्तावमाथि गर्नुभएको विश्वास र लगानीबाट पोखरा ट्रेड मल बन्यो । यो कम्पनी स्थापना हुनुअघि म फेन्सी व्यवसायी संघको संस्थापक नेता थिएँ । पछि पोखरामा एउटा व्यवस्थित व्यापारिक स्थलको आवश्यकता महसुस गरी हामी व्यवसायी–व्यवसायी मिलेर २०६९ सालमा पोखरा ट्रेड मल प्रालि गठन गर्यौँ र २०७२ सालदेखि सञ्चालनमा ल्याएका हौँ । पोखराका सम्पूर्ण व्यापारी व्यवसायीहरूको पीरमर्कालाई मध्येनजर गरेर हामीले यो मल निर्माण र सञ्चालन गरेका हौँ ।
हामी हिजो पनि व्यवसायी थियौँ र आज पनि व्यवसायी नै छौँ । हामीले सकेको र जानेको सहयोग व्यवसायी साथीहरूलाई गरिरहेका छौँ । म अहिले पनि फेन्सी तथा रेडिमेड व्यवसायी नै छु । मेरो एउटा थोक र अर्को रिटेल व्यवसाय छ । रिटेल म्याडम (श्रीमती)ले र थोक मैले हेरिरहेका छौँ ।
आजको दिनमा पोखरा ट्रेड मलले पोखरामा के–कसरी आफ्नो सेवा प्रवाह गरिरहेको छ ?
सुरूका दिनहरूमा हामी नयाँ मार्केट लिएर आएकाले समस्याहरू धेरै नै थिए । हामीले निर्माण गरेका सटरहरू कसरी भर्ने, व्यापारी साथीहरूलाई कसरी आमन्त्रण गर्नेलगायत अनेक चुनौती थियो । हामीले त्यसलाई राम्रैसँग झेल्यौँ र सफलता पनि पायौँ । जुनबेला पोखरा ट्रेड मल सञ्चालनमा ल्याएका थियौँ त्यतिबेला व्यापार व्यवसाय भूकम्पले थिलो थिलो बनेको अवस्था थियो । सँगसँगै भारतले लगाएको कठोर नाकाबन्दीको समेत सामना हामीले सुरूवाती चरणमै झेल्न बाध्य भयौँ । फलस्वरूप देशको आर्थिक अवस्था नै कमजोर बनेको थियो । त्यस बेला हामीले व्यवसायीहरूलाई सटरको भाडामा ५० प्रतिशत छुट दिएर व्यवसायलाई टिकाउन मद्दत पुर्याएका थियौँ ।
फेरि हामीले बीचमा विश्वव्यापी कोभिड–१९ को महामारीलाई पनि सामना गर्नुपर्ने अवस्था आयो । त्यो समयमा पनि हामीले छुटसहितका अन्य विभिन्न स्किमहरू ल्याएर व्यापारी साथीहरूलाई व्यवसायमा टिकाइराख्ने काम गर्यौँ । अहिले फेरि विश्वव्यापी आर्थिक मन्दीको सामना पनि हामीले नै गरिरहनुपरेको छ । संसारका कतिपय देश–देशबीच भएका युद्धहरूको प्रवाभस्वरूप हामीले पनि आर्थिक मन्दीको सामना गर्नुपरिरहेको छ । यो अवस्थालाई पनि कसरी पार लगाउने भन्ने नयाँ चुनौती देखा परेको छ । यद्यपि, हामीलाई चुनौती सामना गर्ने बानी परिसकेको भएर यसलाई पनि पार लगाउँछौँ भन्नेमा हामी ढुक्क छौँ । साथै, यहाँ रहेर व्यापार व्यवसाय गर्नुहुने र आउनुहुने ग्राहक महानुभावहरूको हितका लागि के–कसरी काम गर्न सकिन्छ भन्नेबारे हामीले गहन रूपमा सोचिरहेका छौँ र अहिलेको चुनौती पनि त्यही हो ।
व्यापार गर्न र सामान किन्नका लागि पोखरा ट्रेड मल नै आउनुपर्छ र ?
मलाई लाग्छ, पोखरा ड्रेड मल गण्डकी प्रदेशकै ठूलो मल हो । यदि हामीभन्दा पछि अर्को एउटा ठूलो मल नबनेको भए हामी नेपालकै ठूलो मलका रूपमा स्थापित हुने थियौँ । पोखरा पर्यटकीय राजधानी पनि हो । यहाँ आउनुहुने पर्यटकहरूले पनि केही सामान किन्न पर्यो वा मन लाग्यो भने पनि पोखरा ट्रेड मल नै जानुपर्छ भन्ने माहोल सृजना भएको छ । जस ग्राहकहरू पोखरा ट्रेड मल आउनुहुन्छ भने व्यपार पनि त यहीँ नै गर्नपर्यो नि । त्यस्तै, जब सबै प्रकारका सामान पोखरा ट्रेड मलको एउटै छानामुनी पाइन्छ भने ग्राहकले अन्त गएर किन दु:ख पाउनु अनि समय खर्चिनु । त्यसकारणले पनि व्यापारी र ग्राहक दुवैका लागि उपयुक्त गन्तव्य पोखरा ट्रेड मल बनेको छ र सबैले यहीँ आउँदा सबै खालका सामान पाउनुहुनेछ । हामीले बनाएको विश्वासको वातावरणका कारण अहिले अफ सिजनमा पनि दैनिक औसत पाँच हजार जना ग्राहक कुनै न कुनै कामका लागि पोखरा ट्रेड मल आउने गर्नुभएको छ । हामीलाई माया गरेर यहाँ आउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
मुलुक आर्थिक समस्याबाट गुज्रिरहेको पछिल्लो अवस्थाकाबीच पोखरा ट्रेड मलको व्यापारको अवस्था कस्तो छ ?
यथार्थमा हेर्दा व्यापारको अवस्था गत वर्षको तुलानमा केही घटेको छ । मान्छेसँग क्यासको कमी हो कि भन्ने मलाई लागेको छ । तर, व्यवसायी साथीहरूले धैर्यता राख्नुभयो भने यो समस्यालाई पनि सजिलै सामना गर्न सकिन्छ । किन भने विगतमा मुलुक द्वन्द्वग्रस्त बन्दा ३६५ दिनमा बल्लतल्ल १५० दिन व्यापार गर्ने हामी नै हौँ । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायत थुप्रै जटिल परिस्थितिको सामना पनि हामीले गरेकै हौँ । यो आर्थिक समस्या क्षणिक हो । केही समयपछि लयमा आउने निश्चित छ भने हामी आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकार र निजी क्षेत्र मिलेर समस्याको छिटो समाधान गर्नेतर्फ पनि हामी केन्द्रित हुनुपर्छ । आर्थिक मन्दीबाट सबैलाई असर परेको छ । यो अवस्थामा राज्यले व्यसायीको सुरक्षा कसरी गर्छ भन्ने मूल कुरा हो । बैंकसँग पैसा छ भन्छ तर लगानी गर्ने सहज वातावरण छैन । व्याजदर बढेकाले आजको अवस्थामा प्रतिफल भन्दा पनि कसरी लोन लिने र कसरी बाँच्ने भन्नेतर्फ ध्यान दिनुपरेको छ ।
पोखरा ट्रेड मलमा दैनिक कति ग्राहक आउँछन् ?
दसैँको पिक आवरमा दिनको १० हजार भन्दा बढी र अन्य दिनहरूमा दैनिक ५ हजार ग्राहकहरू मलभित्र प्रवेश गर्ने गरेका छन् । तर, यहाँ आउनुहुने सबै ग्राहकले सामग्री किन्नुहुन्छ भन्ने छैन । तर, पनि हाम्रो मल आएर खाली हात फर्किनुहुने कमै हुनुहुन्छ । यहाँ आउनुहुने ग्राहक महानुभावहरूलाई के भन्न चाहन्छु भने पोखरा ट्रेड मलमा सबै खालका सामग्री पाइन्छन् । नुनदेखि सुनसम्म र घरायसी सामग्रीदेखि कार्यालयका सामग्रीसम्म पाइन्छ त्यसैले यहाँ आएर साथ सपोर्ट दिनुहुन अनुरोध गर्दछौँ । सधैँ समय एउटै हुँदैन । हामीले समयलाई परिवर्तन गर्ने भन्दा पनि समयको अनुकुलता अनुसार आफूलाई ढाल्दै जान अनुरोध गर्दछु ।
विस्तृतमा हेर्नुहोस् भिडिओ अन्तर्वार्ता–
यो पनि पढ्नुहोस्–
घरबेटीसँगको टसलपछि यसरी ठडियो पोखरा ट्रेडमल, कति भयो लगानी ? (भिडिओ अन्तर्वार्ता)
FACEBOOK COMMENTS