काठमाडौं । ‘खासमा यो पोलिटिक्स भन्ने कुरा जान्न त जान्दछु, मलाई रुचि पनि छ । तर, अब उहाँहरू (सुदन गुरुङहरू) ले राम्रोसँग ह्याण्डिल गर्नुहुन्छ भने मलाई केही चाहिँदैन भन्ने खालको मान्छे हुँ म । त्यो कारण आई थट दे विल ह्याण्डिल वेल, राम्ररी गर्नुहोला भन्ने सोच थियो । त्यही भएर मलाई जान इच्छा पनि थिएन र गइनँ पनि ।’
उल्लेखित भनाइ जेन जी आन्दोलनपछि चार हप्ताअघि पहिलोपटक एक टेलिभिजन अन्तर्वार्तामा देखिएका ‘गरिखान देउ अभियान’का संयोजक तथा जेन जी अगुवा बताउने मिराज ढुङ्गानाको हो । ‘जेन जीको नेतृत्व गरेर सरकारमा जानुपर्छ भनेर कुनै प्रस्ताव आयो कि आएन’ भन्ने अन्तर्वार्ताकारको सवालको जवाफ दिने क्रममा मिराजले आफू व्यवसाय गरेर बसिरहेको र राजनीतिमा आउने कुनै चासो वा रुचि नभएको स्पष्ट जवाफ दिएका थिए ।
उनले यो जवाफ दिइरहेको बखत ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङको नेतृत्व र पहलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निर्दलीय चुनावी सरकार गठन भइसकेको थियो भने मन्त्रीहरू नियुक्त हुने क्रम धमाधम चलिरहेको थियो । अझै पनि अधिकांश मन्त्रालयका लागि मन्त्री नियुक्त हुन बाँकी नै छ ।
अन्तर्वार्ता अवधिभर अत्यन्तै मलिन र त्रसित मुद्रामा प्रस्तुत भएका मिराजले भइरहेकै छ, चलिरहेकै छ, अहिल्यै म किन अघि बढ्नु जस्ता आशयबाट आफ्नो जवाफहरू दिएका थिए । अर्थात् परिवर्तित समयले ल्याएको कुनै पनि अवसरमा आफूलाई लोभ नरहेको उनको स्पष्टोक्ति थियो । यद्यपि, उनले आफू राजनीति गर्ने सोचमा नभएको तर परिस्थितिले त्यतातिर ढाल्न पनि सक्ने भने बताएका थिए । यी सबै कुराहरू बताइरहँदा उनी स्वयमले आफूलाई जेन जी मुभमेन्टको निकै प्रभावशाली वा प्रमुख व्यक्ति (खेलाडी) का रूपमा चित्रित गरिरहेको भान पारिरहे ।
हुन पनि सामाजिक सञ्जालहरूमार्फत जेन जी आन्दोलनको आह्वान उनैले गरेको देखिन्थ्यो । त्यसकारण यो आन्दोलनबाट प्राप्त उपलब्धिको हिस्सेदार वा नेतृत्वकर्ताका रूपमा आफूलाई उभ्याउनु स्वाभाविक पनि होला । तर, बिडम्बना भदौ २३ र २४ गते भएको नरसंहारकारी र विध्वंशकारी आन्दोलनमा सडकमा भने उनी थिएनन् । सोही अन्तर्वार्तामा यो कुरा पनि उनले स्वीकार गरिसकेका छन् ।

आफू केवल आन्दोलनको आह्वानकर्ता मात्रै भएको उनको प्रष्टीकरणका कारण आन्दोलनबाट प्राप्त उपलब्धि र अवसरहरूमा कुनै लालच देखाउने नैतिक बल उनमा नभएको स्पष्ट देखिन्छ । उक्त अन्तर्वार्तापछि अहिलेसम्म उनी धेरै ठाउँमा सार्वजनिक भई आफ्नो धारणाहरू राखिरहेका छन् । त्यस क्रममा उनको शारीरिक हाउभाउलाई नियाल्दा आन्दोलनमा सहभागी नहुनुमा पछुतो भन्दा पनि आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको नैतिक/राजनीतिक जिम्मा आफ्नो काँधमा आउने पो हो कि भन्ने भयबाट पूरै त्रसित भएको देखिन्छ । उनको त्यो मलिन मुद्रालाई हेरेर धेरैले ‘गँजेडी’ पनि भन्न भ्याएका छन् ।

नभन्दै जाग्यो राजनीतिको भोक !

आन्दोलनपछिका सुरूवाती दिनमा राजनीति गर्ने सोचै नरहेको र परिस्थितिले ढल्कायो भने मात्रै ढल्किने बताउँदै आएका उनै मिराज राजनीतिक दल गठनको दौडधुपमा रहेको बताउन थालेका छन् । यही कात्तिक १ गते होटेल एभरेष्टमा एक भव्य पत्रकार सम्मेलन आयोजना गरी उनले आफू दल खोलेर राजनीतिमा आउन लागेको औपचारिक सन्देश नै दिइसकेका छन् । जेन जी आन्दोलनले सत्ता परिवर्तन गरे पनि आफूले सोचेजस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुने देखेपछि राजनीतिक दल नै खोलेर उक्त व्यवस्थाका लागि लड्नपर्ने अवस्था आएको उनको भनाइ छ ।

एक महिनाअघिसम्म राजनीतिमा आउने कुनै सङ्केत नदेखाएका मिराजले एक्कासि दल खोल्ने घोषणा गर्नुलाई सार्वजनिक वृत्तमा कतिपयले शङ्काको दृष्टिले हेरेका छन् । आन्दोलनको आह्वान गर्ने तर आफू नजाने, देशको नेतृत्व गर्छु भन्ने धम्की आयो भन्दै डराएर लुक्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पूरा गर भन्ने तर विधिबारे स्पष्ट नहुने, राजनीतिक दल खोल्छु तर चुनावका लागि होइन भन्ने, जेन जीलाई समेटेर दल खोल्न लागेको भन्ने तर निर्वाचन आयोगमा दर्जनभन्दा बढी नयाँ दल दर्ता भइसक्दा पनि अत्तोपत्तो नहुनेलगायत विषयहरूले उनका गतिविधिमा शङ्काको घेरामा परेका छन् ।

निर्वाचन भाँड्न परिचालित त भइरहेका छैनन् ?
मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासन कायम गरिनुपर्ने तथा सूचीकरण नभए पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुलाउनुपर्ने मागको जगमा जेन जी आन्दोलन अघि बढेको थियो । उनीहरूले उठाएको मुद्दा साझा र सुन्दर भए पनि कार्यान्वयनको पाटो कठिन थियो । कुनै पनि सरकार र आन्दोलनकारीबीच सम्झौता र हस्ताक्षर हुँदैमा यो माग पूरा हुनेवाला थिएन । समाजका सबै तह र तप्काका व्यक्तिहरूले आ–आफ्नो आचरण सुधार गरे मात्रै भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सकिने अवस्था हो । यद्यपि, भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउने भन्दा संरक्षण गर्ने प्रवृत्तिको अन्त्य गर्न भने यस्ता आन्दोलन कोशेढुङ्गा सावित हुनुपर्ने हो, तर त्यसतर्फ पनि यो आन्दोलनले सफलता हासिल गरेको देखिँदैन ।
दुई दिनको आन्दोलनमा प्रहरीको गोली लागेर ६ दर्जनभन्दा बढीको मृत्यु भएको छ भने देशको ऐतिहासिक महत्त्वका दस्तावेजहरूसहित प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासलगायत खरबौँ रुपैयाँ बराबरका दर्जनौँ भौतिक संरचनाहरू तोडफोड र आगजनीबाट नष्ट गरिएको छ । तर, उपलब्धि भने जम्माजम्मी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र ‘अर्ली इलेक्सन’ ।
निर्वाचन त केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जो सत्तामा भए पनि २०८४ सालमा गर्नेवाला नै थिए, नगरी सुखै थिएन । एक वर्षअघि अर्थात् ०८२ मै निर्वाचन सार्नका लागि यत्रो जनधनको क्षति किन र कसले गरायो भन्ने प्रश्न अहम् बनेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिए पनि हुन्छ कि हुँदैन भन्ने संशय कायम छ । यदि निर्वाचन भइहाल्यो भने पनि त्यो यथास्थितिकै पुनरावृत्ति हुनेछ, जेन जी आन्दोलनकर्ताले माग गरेझैँ उक्त निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि नभई संसदीय हो । अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त निर्वाचनबाट पात्रहरू फेरिने सम्भावना पनि न्यून देखिन्छ । र, त्यो निर्वाचनले दिने परिणाम र सङ्घीय संसदमा देखिने बहुरूपी समीकरणले मुलुक थप खतरनाक अस्थिरतातर्फ भासिने जोखिम हुनेछ ।
मुलुकमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने माग जेन जीले आन्दोलनताका उठाएका थिएनन्, तर आन्दोलनपछि एकाएक जोडतोडका साथ यो मुद्दा उठिरहेको छ, उठाइएको छ । यिनै मिराज ढुङ्गानाले पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका लागि दल बनाउनुपरेको बताएका छन् ।
उनलाई वा कसैलाई मन लाग्दैमा उक्त व्यवस्था स्थापना गर्न सकिँदैन । गर्ने नै हो भने विद्यमान संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसदमा दुई तिहाइ बहुमतको समर्थन चाहिन्छ । त्यो बहुमत अहिलेकै व्यवस्थाअनुसार निर्वाचनको प्रतिस्पर्धाबाट ल्याउनुपर्छ वा फरक पार्टी वा प्रतिपक्षका सांसदहरूको समर्थन पाउनुपर्छ ।
मिराजमा यहीँनिर विरोधाभाष देखिन्छ । किनभने उनले दल बनाउने तर चुनावमा नजाने उद्घोष गरेका छन् । यसको अर्थ विधिसम्मत तरिकाबाट नभई ‘क्रान्ति’ गरेरै आफूले चाहेको व्यवस्था स्थापना गर्ने उनको तयारी बुझिन्छ । तर, उनमा त्यस्तो क्रान्तिको नेतृत्व गर्ने स्पष्ट योजना र कार्यान्यवन क्षमताको अभाव देखिन्छ । कतै उनी परिचालित भएर पो यस्तो माग उठाइरहेका छन् कि भन्ने आशङ्का व्यक्त भइरहेको छ । कतिपयले जेन जीको आवरणमा विभिन्न माग उठाउन लगाएर मुलुकको राजनीतिलाई गिजोल्ने र निर्वाचन हुन नदिई दीर्घकालीन अस्थिरता र गृहयुद्धतर्फ धकेल्न खोज्ने शक्तिहरूले उनलाई प्रभावमा लिएको आशङ्का व्यक्त गरेका छन् । होइन भने उनले आफ्नो ‘रोडम्याप’ स्पष्टसँग जनतालाई बताउन सक्नुपर्ने थियो । डरधम्कीको बहानामा दुलो पसेर बस्नेले आन्दोलन वा क्रान्तिको नेतृत्व गर्न सक्ने कुरै हुँदैन ।
पार्टी खोल्नेको तदारुकता खोइ ?
पार्टी खोल्नेबारे गरिएको पत्रकार सम्मेलनमा उनले ‘पार्टी खोल्दैछु’ भन्नेबाहेकको कुनै पनि विषय सार्वजनिक गरेका छैनन् । र, पार्टी खोल्ने प्रक्रियाअन्तर्गतका कामकारबाहीहरू कहाँ पुर्याइएको छ, कसलाई जिम्मेवारी दिइएको छ त्यो पनि जानकारी दिइएको छैन । पछिल्लो समय जेन जीकै नाम जोडेर निर्वाचन आयोगमा थुप्रै राजनीतिक दल दर्ता भइरहेका छन् । त्यसमध्ये मिराजको दल यो हो भनेर पनि कतै खुलेको छैन । खासगरी उनी के गर्दैछन् भन्ने कुराको पनि कुनै जानकारी सार्वजनिक रूपमा आएका छैनन् ।
सामान्यत: राजनीतिक दल गठन र दर्ता गर्नका लागि पार्टीको नाम, विधान, सिद्धान्त र उद्देश्य, नीति तथा कार्यक्रम, झण्डा, चुनाव चिह्न, केन्द्रीय कार्यसमितिको विवरण, दलका सदस्यहरूको हस्ताक्षर र नेतृत्वलगायत विषय आवश्यक पर्छ । यी सबै दल दर्ताका बखत चाहिने विषयहरू हुन् र यिनै विषयमा उनले गृहकार्य गरिरहेका पनि होलान् । यसमध्ये कतिपय विषयहरू दर्ताअगावै पनि चर्चापरिर्चामा ल्याउने चलन छ, जसले आम सर्वसाधारणको ध्यान खिचोस् । तर, मिराजले कुनै पनि विषय सार्वजनिक बहसमा ल्याएका छैनन्, गोप्य राखिएको छ । यो उनको आन्तरिक रणनीति त होला, तर दल खोल्ने बेलासम्ममा हाल उनलाई समर्थन गरिरहेकाहरू अर्कैको पक्षमा उभिए र उनीप्रति सर्वसाधारण नागरिकले गरिरहेको विश्वास टुट्यो भने त्यस्तो अवस्थामा खोलिने दलको उपादेयता के होला ?
उनले पार्टी खोल्ने भनेपछि सबै जेन जी अटाउने कतिपयको अपेक्षा छ । त्यो अपेक्षा पूरा गर्न पनि उनले सही समयमा सही कदम चाल्न जरुरी छ ।
अहिले पनि मुलुकभित्रको भ्रष्टाचार र कुशासनविरुद्ध शान्तिपूर्ण आन्दोलनमा होमिएकाहरूलाई किन राजनीतिक दल चाहियो ? दलको कुरा कहाँबाट आयो ? निर्दोष बालबच्चालाई मोहोडा बनाई गोलीको शिकार बनाएर सावाँब्याज खान खोज्ने ? पार्टीविरोधी अभियान चलाउनेलाई पार्टी किन चाहियो ? पार्टी खोल्ने र चलाउने आर्थिक स्रोत के हो ? एभरेष्ट होटेलमा पत्रकार सम्मेलन आयोजना गर्ने पैसा कहाँबाट आयो ? लगायत कैयन् प्रश्न मिराजमाथि थुप्रिएको छ ।
यी कुनै पनि प्रश्नको जवाफ उनले स्पष्ट रूपमा दिन सकेका छैनन् । यसबाट पनि उनी परिचालित भइरहेका त छैनन् भन्ने शङ्कालाई बल पुर्याइरहेको देखिन्छ । अधिकांश जेन जी तोकिएकै समयमा निर्वाचन हुनुपर्ने मौन समर्थनमा रहेको देखिइरहँदा मिराजले भने पार्टी खोल्ने तर हालकै अवस्थामा निर्वाचनमा नजाने बताउनुले उनी चुनाव भाँड्ने प्रयोजनका लागि परिचालित पात्र पो हुन् कि भन्ने शङ्काहरू व्यक्त भइरहेका छन् ।
यस्तोमा, उनले कहिले र कस्तो पार्टी बनाउलान् अनि आम जेन जीको भावनालाई कसरी सम्बोधन गर्लान् भन्ने विषय हालसम्म पनि अस्पष्ट र विरोधाभाषपूर्ण छ ।
FACEBOOK COMMENTS