तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । भानुमतिस्थित जौपानी कृषकहरुले एक सय रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्ने तयारी गरेका छन् ।
कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासीले अकबरे खुर्सानी खेती गर्न लागेका हुन् । उक्त जग्गामा खेतीका लागि हाल एक लाख अकबरे खुर्सानीको बेर्ना तयार भएको पूर्व वडाध्यक्ष इमान थापाले जानकारी दिए । एक लाख ६० हजार बेर्ना उत्पादनको लक्ष्य रहेपनि कम उत्पादन भएको उनको भनाइ छ ।
उक्त खेतीबाट कृषकहरुले वार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेको कृषक समेत रहेका थापाले बताए । उनका अनुसार अकबरे खुर्सानी विक्रीबाट वार्षिक छ करोड २५ लाख आम्दानी हुने लक्ष्य रहेको छ ।
उक्त खुर्सानीको बेर्ना फागुनको २० देखि २५ गतेसम्म सार्ने कार्यक्रम रहेको छ । उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा विक्री गर्ने योजना रहेको छ । हाल बजारमा प्रति केजी रु तीन सयदेखि रु पाँच सय थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा कार्यालयले रु एक लाख अनुदान दिएको थियो ।
स्थानीय समेत रहेका गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले खुर्सानीको नर्सरीको निरीक्षण गर्दै यस वडाका कृषकलाई नेपालकै नमुना कृषक भई देशको अर्थतन्त्रमा टेवा पु¥याउन र अरुको प्रेरणाको स्रोत बन्न आग्रह गरे ।
उक्त वडाको ८ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाडा, सखेप, जौपानी र आस्पाग्दी भाँडडाडामा अर्कबरे खुर्सानी उत्पादनको लागि पकेट क्षेत्र बनाउने लक्ष्य राखिएको वडा सदस्य शिवकुमार आलेले बताए ।
यस्तै यस ठाउँमा कफी खेतीका लागि एक लाख कफीको बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकी प्रदेशसँग समन्वय गरी किसानहरुसँग कफी उत्पादनका लागि अन्तरक्रिया समेत गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकीका निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले यस ठाउँ कफी उत्पादनका लागि उपयुक्त रहेको बताए ।
FACEBOOK COMMENTS