काठमाडौं । मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ ।
ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा हुने प्रतियोगितामा यो वर्ष आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिने छ ।
यस माध्यमबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र परिवर्तनलाई नजिकबाट अनुभव गर्न सक्ने आायोजकले जनाएको छ ।
कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन् । प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’
दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ । इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया प्लेटफर्म मार्फत दर्ता गर्न सक्नेछन् । सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।
प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले जानकारी दिएको छ । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिताका टप प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् भने भदौमा क्लोज क्याम्प सञ्चालन हुनेछ । ग्रान्ड फिनाले भदौमा महिनामा आयोजना गरिनेछ ।
FACEBOOK COMMENTS