धनुषा । धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म ११० जनाको समस्या समाधान गरेको छ ।
धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका लागि गठित पाँच सदस्यीय समितिले हालसम्म ११० वटा समस्याको समाधान गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजीको समस्यासम्बन्धी २९८ वटा उजुरी परेको छ । परेका उजुरीमाथि छानबिन गरेर पीडित तथा पीडक पक्षलाई बोलाएर छलफलपछि सहमति गराउने तथा पीडकले बनाएका कागज फाड्न लगाउने काम भइरहेको प्रजिअ दाहालले जानकारी दिए । दुवै पक्षलाई बोलाएर छलफल र सहमति गराउने काम भइरहेकाले समस्याको समाधान हुने गरेको छ ।
उजुरीका आधारमा मिटर ब्याजीको आरोप लागेका ऋण दिने धनी तथा पीडितलाई बोलाएर छलफल गराउने काम जिल्ला प्रशासन कार्यालय धनुषाले नियमितरूपमा गर्ने गरेको छ । यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी परिचालन गरिएको प्रजिअ दाहालले बताए ।
मिटर ब्याजका कारणले कतिपयको उठीबासको अवस्था आएपछि नेपाल सरकारले छानबिन समिति बनाएको र सो समितिले समस्या समाधानका लागि प्रतिवेदन दिएपछि अहिले जिल्ला जिल्लामा छानबिन भइरहेको छ । मिल्न नसक्ने र धेरै जालसाजी गर्नेमाथि कारबाही गर्ने पक्षमा जिल्ला प्रशासन कार्यालय धनुषा रहेको प्रजिअ दाहालले जनाए ।
कतिपय मिटर ब्याजी उजुरी परेपछि आफैँ सहजरूपमा प्रस्तुत भएका छन् भने समस्या समाधानका लागि सहयोग गरेको छानबिनमा खटिएका समितिका कर्मचारीले जनाएका छन् । धनुषामा साहु महाजनसँग ऋण लिएर वैदेशिक रोजगारी, उपचार तथा छोरीको विवाहमा खर्च गरेको पाइएको छ ।
FACEBOOK COMMENTS