चितवन । अनुचित लेनदेन (मिटरव्याजी) बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा निवेदनमा छलफल भएको छ ।
जसमध्ये २१ वटा निवेदनको सहमति भइसकेको छ भने १७ जना निवेदक सम्पर्कमा नआएका हुन् । उनीहरुलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा ल्याउन नसकिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मिलापत्र भएका निवेदकबाट तीन करोड १५ लाख ५९ हजार ८५० पीडितले माग गरेको भए पनि तीन करोड १३ लाख पाँच हजार आठ सय ५० तिर्ने सहमति भएको हो । पीडितले लिएको रु दुई करोड ९२ लाख ५६ हजार आठ सय ५० सरकारको चलनचल्तीको व्याजदरका आधारमा रकम तिर्ने सहमति भएको हो । कार्यालयले हालसम्म १० कट्ठा १२ धुर जग्गा फिर्ता गर्ने सहमति गराएको छ ।
भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर महानगरपालिका–२ निवासी पीडकले सात कट्ठा १३ धुर फिर्ता गरेका छन् । यस्तै भरतपुर महानगरपालिका–११ का पीडितको १८ दशमलव २५ धुर र रत्ननगरका एक पीडितको दुई कट्ठा जग्गा फिर्ता गर्ने सहमति भएको श्रेष्ठले बताए ।
कार्यालयमा विसं २०८० वैशाख १९ गतेदेखि जेठ १४ गतेसम्म ६० वटा जेठ १७ गतेदेखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका थिए ।
परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका र चेक बाउन्सका रहेका छन् । पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गापीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिपाउँ भनी निवेदन दिएका छन् ।
FACEBOOK COMMENTS