काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न भएको छ ।
९–११ जनवरी २०२६ मा भएको एमएमएससी नेपाल टीभीएस रेसिङ रेसमा नेपाली राइडरहरूले विश्वस्तरीय ट्रयाकमा एशियन स्तरको प्रभावशाली प्रदर्शन गरेका छन्।
नासा नेपालको तर्फबाट मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) द्वारा आयोजित एमएमएससी नेपाल टीभीएस रेसिङ अन्तर्गत शुक्रबार ९ जनवरी ओरियन्टेशन, शनिबार १० जनवरी प्राक्टिस रेस तथा आइतबार ११ जनवरीमा फाइनल रेस सम्पन्न भएको थियो।
उक्त फाइनल रेसमा सहभागी नेपाली राइडरहरूमध्ये श्रीहरि पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। घरेलु रोड रेसिङमा लामो समयदेखि एकलौटी दबदबा राख्दै आएका पौडेलले अन्तर्राष्ट्रिय स्तरको यस ट्रयाकमा समेत आफूलाई अब्बल सावित गरे।
त्यसैगरी, तीव्र प्रतिस्पर्धाबीच अभिनव राज मल्ल दोस्रो तथा दिलिप दनुवार तेस्रो स्थानमा रहन सफल भए। विजेता सहितको सम्पूर्ण नेपाली टिमलाई मद्रास मोटर स्पोट्र्स क्लबका अधिकारीहरूले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका थिए, जसमा नासा नेपालका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
गत डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनशिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरू सम्मिलित ११ सदस्यीय नेपाली टिममा श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाईं, अभिनव राज मल्ल, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल रहेका थिए।

टिमको व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गरेको थियो भने क्लबका निर्देशक विनोद तण्डुकार टिम म्यानेजर तथा बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियलको रूपमा सहभागी थिइन् ।
यस प्रकारको अन्तर्राष्ट्रिय एक्सपोजरले नेपाली रेसिङ्ग र रेसरको दिर्घकालीन विकास हुने कार्यलाई भविष्यमा पनि लग्नुपर्ने बताउँदै विजेता श्रीहरि पौडेलले नासा नेपाल, एफआइए, एमएमएससी र मोटरस्पोर्टस नेपाल क्लवलाई धन्यवाद दिए।

यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) र मद्रास मोटर स्पोट्र्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो। नेपालमा अन्तर्राष्ट्रिय स्तरको रेसिङ ट्रयाकको अभाव रहेको अवस्थामा चेन्नईमा आयोजित यस प्रतियोगितालाई नासा नेपालको राष्ट्रिय प्रतियोगिताको हो।

ट्रयाक, मोटरसाइकल, विधि, प्रविधि र प्राविधिक पक्ष सबै उच्चस्तरीय रहेको यस इभेन्टमा नेपाली राइडरहरूको प्रदर्शनले आयोजक तथा प्राविधिक टोलीलाई समेत प्रभावित बनाएको छ। पूर्व एफ–वान प्राविधिक तथा मद्रास मोटर स्पोट्र्स क्लबका निर्देशक प्रभा शंकरका अनुसार, ’केही प्राविधिक पक्ष बाहेक नेपाली राइडरहरूको रेसिङ स्तर अनुमानभन्दा निकै उत्कृष्ट रह्यो।’

सुरुवाती चरणमा नयाँ ट्रयाक र प्रविधिमा नेपाली राइडरहरू सम्हालिन नसक्लान् भन्ने आशंका रहे पनि उनीहरूको आत्मविश्वास, अनुशासन र गति देखेर टीभीएस इन्डियाको टोलीसमेत सकारात्मक रूपमा प्रभावित भएको जनाइएको छ।

यसै प्रतियोगिताबाट नासा नेपाल र टिभिएर रेसिङ बीचको पहिलो सहकार्यको औपचारिक सुरुवात समेत भएको छ, जसलाई नेपाली मोटरस्पोट्र्सका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
केही वर्षदेखि सञ्चालन हुँदै आएको ‘एक्सप्लोर द ट्रयाक’ कार्यक्रमलाई अन्तर्राष्ट्रिय महासंघहरूबाट उच्च प्रशंसा प्राप्त हुँदै आएको छ। उचित ट्रयाकको अभाव भएतापनि नेपाली खेलाडीको क्षमता, आत्मविश्वास र अन्तर्राष्ट्रिय एक्सपोजर वृद्धिमा यस कार्यक्रमले उल्लेखनीय योगदान पुर्याउँदै आएको नासा नेपालले विश्वास व्यक्त गरेको छ।
यही पुष १० गते चितवनमा सम्पन्न नासा नेपालको ११औँ साधारणसभाले समेत ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत यस वर्ष तीन टिमलाई विश्वस्तरीय ट्रयाकमा सहभागी गराउने योजना पारित गरेको छ।
नेपालमा मोटरसाइकल रेसिङ लोकप्रिय भए पनि व्यवस्थित पूर्वाधार, विधि तथा कर्पोरेट प्राथमिकताको अभाव कायमै छ। यस्ता चुनौतीबीच नेपाली युवाहरूको साहस, समर्पण र निरन्तर सहभागिताले मोटरस्पोट्र्सप्रति अन्तर्राष्ट्रिय चासो बढ्दै गएको जनाइएको छ।
एफआईएम, एफएमएससीआई र एमएमएससीको सहयोगले नेपाली मोटरस्पोट्र्सलाई नयाँ ऊर्जा र सम्भावनाको ढोका खोलेको नासा नेपालको निष्कर्ष रहेको छ।
FACEBOOK COMMENTS