काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले पहिलो वार्षिक साधारण सभा आगामी शुक्रबार आयोजना गर्ने भएको छ ।
होटेल अलफ्टमा हुने सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, सांसद विशाल भट्टराई, व्यवसायी दिपक मल्होत्रा, प्रमुख जिल्ला अधिकारी काठमाडौंका गोविन्द प्रसाद लिजाललगायतको सहभागिता रहने बताइएको छ ।
सो सभामा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वद्वय डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिने महासंघले जानकारी दिएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी महासंघले दिएको हो । सभामा सहभागी हुन नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराइले सम्पूर्णमा आह्वान गरेका छन् । उनले ४० जिल्लामा विस्तार भएको संस्था दुई वर्षको अबधिमा ७७ जिल्लामा संरचना विस्तार गर्ने जानकारी दिए ।
साथै, उनले नेपालमा छरिएर रहेका मोबाइल व्यवसायीलाई एउटै छातामुनि समेट्दै व्यवसायीले भोगेका समस्याका सम्बन्धमा सरोकारवाला समक्ष वकालत गर्ने र राज्य तथा नागरिकप्रतिको दायित्वबारे व्यवसायीलाई प्रतिबद्ध बनाउन महासंघको महत्वपूर्ण अभिभारा रहेको बताए । उनले राज्यको निरन्तरको बेवास्ता, केही मोबाईल आयातकर्ता तथा कम्पनीको अस्पष्ट दृष्टिकोणले आजित भएका व्यवसायीले महासंघ आएसँगै केही राहतको महसुस गरेको दाबी समेत गरे ।
साथै, उनले अर्बौं राजश्व बुझाउने कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएको गुनासो गर्दै विभिन्न बहानामा सरकारले व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाए ।
FACEBOOK COMMENTS