२०१७ साल कात्तिक २४ गते काठमाडौंमा जन्मिएका दिपक मल्होत्रा इन्टेग्रेटेड मोविलिटी सोलुशन प्रालि (आईएमएस) ग्रुपका अध्यक्ष हुन् । यसका अलावा उनी नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष, मोबाइल इम्पोटर्स एसोसिएशनको अध्यक्षल तथा घरजग्गा व्यवसायी र एनबीआईमा समेत संलग्न छन् । सफल व्यवसायीका रूपमा आफ्नो पहिचान स्थापित गरेका मल्होत्रालाई विशेषगरी नेपालमा सामसङ मोबाइल तथा एसोसेरिजको अधिकृत विक्रेताका रूपमा चिनिन्छ ।
सानैदेखि सीमित कुरा गर्ने काम धेरै गरेर देखाउने स्वाभाव भएका तथा व्यापार व्यवसाय गर्ने सोच विकास गरेका मल्होत्रा विद्यालय तहमा अध्ययन गर्दा औसत छात्र थिए । खेलकुदका कार्यक्रमहरूमा विशेष रुची राख्ने उनी हाईजम्प, लङ्गजम्प र रेसहरूमा अक्सर सहभागिता जनाउने गर्दथे । नेपाल आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले नेपाल पब्लिक युथ क्याम्पसबाट वाणिज्य संकायमा प्रवीणता प्रमाणपत्र तह र शंकरदेव क्याम्पसबाट स्नातक तहको अध्ययन गरे । साथै उनले अर्थशास्त्रमा पनि स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
शंकरदेव क्याम्पसमा स्नातक तह अध्ययन गर्दागर्दै २०३६ सालमा आफ्ना साथीहरूसँग उनी घुम्नका लागि विदेश (हङकङ) यात्रामा निस्किए, जतिबेला उनी १९ वर्षको मात्रै थिए । हङकङबाट फर्किंदा उनले ‘कोसेली’स्वरूप व्यापार गर्ने ‘सोच’ लिएर फर्किए ।
त्यही सोचबारे उनले आफ्ना साथीहरूसँग सल्लाह गरे, हङकङ घुम्दा आफूले देखेका महत्वपूर्ण सन्दर्भहरू पनि साथीहरूलाई बाँडे । त्यसपछि सन् १९८० को शुरूवातदेखि नै मल्होत्राले आयातजन्य व्यवसाय शुरू गरे । व्यवसायमा लागेसँगै प्रभावित बनेको पढाइलाई उनले स्नातक तहभन्दा माथि पु¥याउन सकेनन् । यद्यपि, अहिले उनी नेपालमा नाम चलेको र सम्मानित व्यवसायीका रूपमा स्थापित भएका छन् ।
निक्कै चुनौतीहरूको सामना गर्दै उनले मोटर पार्टस, इलेक्ट्रोनिक आइटम, टेलिभिजन, कम्युटर पार्टस र भिडियो डेक (भीसीआर)लगायत सामग्रीहरूको आयात तथा विक्रीबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरेका हुन् । जतिबेला व्यापारको ढाँचा अहिलेको भन्दा बिलकुल बेग्लै हुने गरेको उनी बताउँछन् । नेपालमा आयात गर्दा विदेशी मुद्राहरूको अभाव हुने, ओपन जनरल लाइसेन्स (ओजीएल)बिना कुनै पनि सामान आयात गर्न नपाउनेलगायत झन्झटहरू व्यहोर्न पर्ने स्थिति थियो । तथापी नेपाली बजारमा आवश्यक सामग्रीहरूको आयात तथा विक्रीलाई निरन्तरता दिँदै गए ।
सन् १९९६ (वि.स. २०५५) सालमा जतिबेला छिमेकी देश भारतमा भर्खरै मोबाइल फोनको शुरूवात भएको थियो । तर, भारतको ‘ड्युटी स्ट्रक्चर’ धेरै नै माथि हुने भएकाले अधिकांश वस्तुहरू नेपालमा आयात हुने गर्दथ्यो र भारतीय पर्यटकहरू यहाँ सस्तोमा सामान पाइने भएपछि नेपालबाट त्यस्ता सामान किनेर लैजाने गर्दथे ।
त्यही कुरालाई लक्षित गरेर आफूले सन् १९९६ बाटै नेपामा मोबाइल फोनको आयात तथा विक्री शुरू गरेको उनी बताउँछन् । जुनबेला नेपालमा मोबाइल फोनको शुरूवात नै भएको थिएन । शुरूमा उनले मोटोरोला, पानासोनिक र केही वर्षपछि आएको नोकियासहित अन्य विभिन्न ब्राण्डका फोन आयात गरेर विक्री गर्ने गर्दथे । र, वि.स. २०५७ साल अर्थात् सन् १९९८ मा नेपालमा पनि मोबाइल फोनको प्रयोग शुरू भयो । त्यतिबेलासम्म अरु कसैले मोबाइल फोन आयात नगरेको दाबी मल्होत्राको छ ।
त्यसपछि सन् २००१ मा मल्होत्रासहितको एउटा टोली सिंगापुरस्थित सामसङको कर्पोरेट अफिस पुगेर सामसङको डिस्टिब्युटर माग गरे । जुनबेला नेपाललगायत अन्य मोबाइल बजारमा समेत नोकियाको दबदबा बलियो थियो भने सामसङको फोन किन्ने मानिसको संख्या न्यून थियो । त्यस्तो बेलामा सामसङको बजार प्रवद्र्धन गर्ने आँट आफूहरूले गरेको देखेर सामसङ पनि खुशी भएको क्षण उनले सुनाए । मल्होत्राले जब सामसङको फोन आयात गर्न थाले त्यसपछिदेखि अन्य कुनै पनि ब्राण्डका फोन आयात गरेनन् ।
सन् २००७ सम्म थोरै तर एकछत्रजस्तै व्यापार गरेको आईएमएसले त्यसपछि प्रतिस्पर्धाको बजारमा उत्रिन बाध्य भयो । किनभने नेपालमा सर्वाधिक विक्री हुने नोकिया फोनले पनि सन् २००७ मा एजेन्सी स्थापना गरेर बजार प्रवद्र्धनको शुरूवात ग¥यो । त्यसपछि प्रतिस्पर्धाको बजारमा प्रवेश गर्दै देशभरी डिस्टिब्युटर च्यानल बनाएर आईएमएस पनि आक्रामकरूपमा बजार प्रवद्र्धनमा लाग्यो ।
मोबाइलका सोरुमहरूसमेत पहिला आफैंले खोलेको अनुभव सुनाउँदै उनले भने, ‘डिल्लीबजारस्थित डिल्लीबजार सुपरमार्केटबाट विक्री शुरू गरेर पछि न्यूरोडलगायत काठमाडौंमा मात्रै करिब १० वटा पसल खोलेर विक्री सेवा उपलब्ध गराएको थिएँ ।’
त्यस्तै सन् २०११ मा जब एन्ड्रोइड प्लेटफर्ममा गएर सामसङले स्मार्टफोन शुरू ग¥यो तब नोकियाले छानेको प्लेटफर्म गलत सावित हुन पुग्यो । सन् १९९८ देखि करिब १३ वर्षसम्म मोबाइल फोनको जगतमा नम्बर एक पोजिसन कायम गरेको नोकिया त्यसबेलादेखि कमजोर बन्दै गयो र आजसम्म पनि नेपालमा मात्र होइन विश्व बजारमै सामसङले आफ्नो राम्रो बजार राम्रोसँग क्रियट गरिरहेको छ ।
नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि सामसङले जुन फोन नेपालमा लञ्च गर्ने हो उक्त फोनका लागि प्राविधिकहरू आएर पहिल्यै फिल्ड टेस्ट गरेर जाने र उपयुक्त फोन निर्माण गर्ने गरेको मल्होत्रा दाबी गर्छन् । अन्य कम्पनीले जुनसुकै देशका लागि एउटै उत्पादन गर्ने तथा कतिपय फोनमा देशअनुसार समस्याहरु पनि आउने गरेको भन्दै उनले भने, ‘सामसङले देशअनुसार नै फरक–फरक र उपयुक्त उत्पादन गर्ने गरेकाले यो फोन पर्फेक्ट छ ।’
नोकियापछि पछिल्लो दुई वर्षयता विभिन्न चाइनिज ब्राण्ड तर राम्रा स्मार्टफोनहरू नेपालमा आयात हुन थालेकाले केही प्रतिस्पर्धाको चाप पुनः महसुश गरेका मल्होत्रा सामसङले केही चनाखो भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउँछन् । आउँदा दिनमा ग्राहकमैत्री मूल्य निर्धारण र थप आक्रामक बजार नीति लिनुपर्ने सुझाव उनी सामसङलाई दिन्छन् । तर, सामसङ फोन प्रयोग गर्नेको स्टाटस र चाइनिज ब्राण्डका फोन प्रयोग गर्नेको स्टाटस फरक हुने भएकाले अझै लामो समय सामसङले बजार लिने उनको दाबी छ ।
व्यक्तिगत आर्थिक उन्नतीका साथै राष्ट्रले समेत उन्नती गर्ने खालको व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने सोच राखेका मल्होत्राले पछिल्लो समय स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, हाइड्रोपावर र हस्पिटालिटी क्षेत्रमा पनि लगानी विस्तार गरिरहेका छन् ।
पछिल्लो समय आईएमएस ग्रुपमार्फत मल्होत्राले अटोमोबाइल्स, ई–कमर्श, कन्स्ट्रक्सन, रियलस्टेट, हस्पिटल, बेबी केयर, ब्रोडकास्टिङ र बैंकलगायत क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएका छन् । तर, सम्पूर्ण क्षेत्रमा लगानी गर्नाका लागि सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने सुझाव उनको छ । राजनीतिमा समेत होमिन खोजेका उनी अहिले थामिएका छन् र राजनीति आफ्नो लागि उपयुक्त प्लेटफर्म नभएको निष्कर्षमा समेत मल्होत्रा पुगेका छन् ।
FACEBOOK COMMENTS