एजेन्सी । मोदी ३.० नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले भारतलाई प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्त्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको छ ।
आफ्नो पहिलो एक सय दिनमा मोदी ३.० सरकारले करिब १५ लाख करोड ९भारतीय रुपैयाँ। को परियोजनाहरू सुरु गरेको छ । यसमा विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षाका क्षेत्रमा भएका प्रमुख विकासहरू समावेश छन् ।
मुख्य पहलहरूमा अन्तरिक्ष स्टार्टअपका लागि एक हजार करोडको उद्यम पूँजी कोषको स्थापना, अगस्ट १६ मा एसएसएलभी–डी३ मा इओएस–०८ उपग्रहको सफल प्रक्षेपण, ५० हजार करोड रूपैयाँको विनियोजनमा राष्ट्रिय अनुसन्धान कोषको स्थापना र १० हजार पाँच सय करोडबाट ‘विज्ञान धार’ योजनाको सुरुआत समावेश छन् ।
यसबाहेक गुजरातको सानन्दमा तीन हजार तीन सय करोड रुपैयाँको लगानीमा अर्धचालक एकाइ (सेमीकन्डक्टर युनिट) स्थापना गरिनेछ । यसको उत्पादन क्षमता प्रतिदिन ६० लाख चिप्स हुनेछ ।
प्राविधिक प्रगतिहरूले स्वदेशी अर्धचालक सुविधाहरूको स्थापनासँगै देशलाई दोस्रो ठूलो मोबाइल उत्पादक बनाएको छ । साथै विपद् व्यवस्थापनका लागि राष्ट्रिय डाटाबेस र ग्रामीण भूमि अभिलेखका लागि भुवन पञ्चायत पोर्टल सिर्जना गरिएको छ ।
ऊर्जा र सुरक्षाको क्षेत्रमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले उत्तरपूर्वी क्षेत्रमा जलविद्युत् परियोजनाहरूलाई स्वीकृति दिएको छ । मोदी–सरकारले वृक्षरोपण र वातावरणीय पुनःस्थापनाका लािग हरित ऋण कार्यक्रम पनि ल्याएको छ । मोदीले जुन ९ मा राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।
FACEBOOK COMMENTS