काठमाडौं । पर्याप्त आवेदन नपरेपछि मोदी ईनर्जी लिमिटेडले आईपीओ बिक्रीको समय बढाएकाे छ ।
फागुन २५ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले भने आज (विहिबार) सम्म मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्र पर्वतकाे साविक दुर्लुङ्ग हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका २, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरूले यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा सर्वसाधारणमा निष्काशन हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने अधिकतममा १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।
कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो ।
यस आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS