काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेका छन् । पुटिन आइतबार बेलुकी दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गरेका थिए ।
उनलाई स्वागत गर्न प्रधानमन्त्री मोदी विमानस्थलमै पुगेका थिए । एयरपोर्टमा स्वागतपछि पुटिन र मोदी एउटै गाडी चढेर ७ लोक कल्याण मार्ग पुगेका बिबिसीले जनाएको छ । ७ लोक कल्याण मार्ग प्रधानमन्त्री मोदीको आवास हो ।
मोदीले आयोजना गरेको निजी रात्रिभोजपश्चात पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको भागवत गीता उपहार दिए । भागवत गीता उपहार दिँदै गरेको तस्बिर मोदीले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत सार्वजनिक गरेका छन् ।
’राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएँ। गीताको शिक्षा दुनियाँका लाखौं मानिसहरुलाई प्रेरणा दिन्छ,’ उनले एक्समा लेखेका छन् ।
रूस–युक्रेन युद्धपश्चात पहिलो पटक पुटिन भारत गएका हुन् । यसअघि पुटिन र मोदीबीच गत सेप्टेम्बरमा चीनमा सांघाई कोअपरेसन अर्गनाइजेशनमा आबद्ध राष्ट्रहरुका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूको सम्मेलनमा भेटवार्ता भएको थियो।

FACEBOOK COMMENTS