काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल इजरायलको औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सहकार्य विस्तारबारे व्यापक छलफल गरेका छन् ।
भेटमा रक्षा, सुरक्षा, व्यापार, प्रविधि, कृषि तथा नवप्रवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य मजबुत बनाउने विषयमा सहमति भएको जनाइएको छ । साथै पश्चिम एशियाको वर्तमान परिस्थितिसहित भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर तथा बहुपक्षीय सहकार्य संयन्त्रअन्तर्गत साझेदारी अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।
वार्तापछि दुवै देशबीच प्रविधि विकास, आधुनिक कृषि प्रणाली, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत–इजरायल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने घोषणा गरेका थिए ।
दुवै देशले उदीयमान तथा महत्वपूर्ण प्रविधिमा रणनीतिक साझेदारी स्थापना गर्ने, डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने तथा शान्तिपूर्ण परमाणु ऊर्जा र अन्तरिक्ष क्षेत्रमा सहकार्य बढाउने निर्णय गरेका छन् । कृषि आधुनिकीकरणका लागि संयुक्त रूपमा नयाँ प्रविधि विकास गर्ने र उत्कृष्ट गाउँ विकास कार्यक्रम सञ्चालन गर्ने सहमति समेत भएको बताइएको छ ।
यसैगरी साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, ऊर्जा अन्वेषण, मत्स्य विकास, सांस्कृतिक आदानप्रदान तथा वित्तीय सहकार्यका क्षेत्रमा पनि सहमति जुटेको छ। दुवै देशले पारस्परिक लाभमा आधारित स्वतन्त्र व्यापार सम्झौता छिट्टै अन्तिम रूप दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा भारत र इजरायलबीचको सम्बन्धलाई विशेष रणनीतिक साझेदारीको स्तरमा विस्तार गर्ने ऐतिहासिक निर्णय गरिएको जनाइएको छ, जसलाई दुवै देशबीच बढ्दो विश्वास र दीर्घकालीन मित्रताको प्रतीकका रूपमा हेरिएको छ।

FACEBOOK COMMENTS