दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको कुराकानीका क्रममा पश्चिम एसियामा शान्ति ल्याउन भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।
मोदी र अल नाह्यानबिचको भेट मोदी खाडी देश पुगेको केही समयमै भएको थियो। यो मोदीको पाँच देशको भ्रमणको पहिलो चरण हो, जसमा चार युरोपेली देश पनि समावेश छन्।
यूएईका राष्ट्रपतिसँगको भेटमा सुरुवाती मन्तव्य राख्दै मोदीले भने, ‘हामी यूएईमाथि भएको आक्रमणको निन्दा गर्छौं।’ यूएईमा अमेरिकाको एक प्रमुख सैन्य अखडा छ। युद्धका क्रममा इरानले धेरै पटक यूएईलाई निशाना बनाएको छ।
मोदीले थपे, ‘जसरी यूएईलाई निशाना बनाइयो, त्यो स्वीकार्य छैन। तर यूएईले जुन संयमताका साथ वर्तमान परिस्थितिलाई सम्हालेको छ, त्यो प्रशंसनीय छ।’
पछि विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘प्रधानमन्त्रीले यूएईमाथिको आक्रमणको कडा निन्दा दोहोर्याउनु भएको छ। साथै यूएईको नेतृत्व र त्यहाँका जनताप्रति ऐक्यबद्धता पनि जनाउनु भएको छ। प्रधानमन्त्रीले स्ट्रेट अफ होर्मुजबाट सुरक्षित र निर्वाध रूपमा जहाजहरूको आवतजावत हुनुपर्ने पक्षमा भारतको स्पष्ट अडान राख्नुभयो। उहाँले यो यस क्षेत्रमा स्थायी शान्ति र स्थिरताका साथै ऊर्जा र खाद्य सुरक्षाका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो।’

पश्चिम एसिया द्वन्द्वको असर विश्वभर महसुस भइरहेको मोदीले बताए। उनले भने, ‘भारत पश्चिम एसियामा शान्ति ल्याउन हरसम्भव सहयोग गर्न तयार छ।’

यस भ्रमणका क्रममा भारत र यूएईबिच रणनीतिक रक्षा साझेदारीको ढाँचामा सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत दुवै देश उन्नत रक्षा प्रविधिको संयुक्त विकास र सह–उत्पादन, गुप्तचर जानकारी आदानप्रदान र आतंकवादविरोधी सहकार्यलाई अझ बलियो बनाउन केन्द्रित छन्।