काठमाडौं । प्रतिनिधिसभा सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बन भएको छ ।
भ्रष्टाचार मुद्दा दर्ता भएसँगै नेपाली कांग्रेसका नेता बस्नेतको सांसद पद स्वतः निलम्बन भएको हो ।
सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद बस्नेतविरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । टेरामक्स खरिदमा भ्रष्टाचार गरेकाे ठहर गर्दै आयोगले उनीसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रचलित भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । बस्नेत अब सङ्घीय संसद् र यसअन्तर्गतका समितिहरूका बैठकमा सहभागी हुन पाउने छैनन् । उनको तलबभत्ता पनि रोकिनेछ ।
यद्यपि, सांसद पद निलम्बनको सूचना सभामुखले संसद्मा सुनाउनुपर्ने व्यवस्था छ । हालका सभामुख देवराज घिमिरेको कामको इतिहास हेर्दा भने बस्नेतको पद अहिल्यै निलम्बन हुन्छ वा हुँदैन भन्नेमा शङ्का छ ।
यसअघि नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता भइसकेपछि पनि सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिएनन् । सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा मात्र पद निलम्बन हुने प्रतिनिधिसभाको नियमावलीमा टेकेर उनले रायमाझीको पद निलम्बन गरेका थिएनन् ।
रायमाझीलाई अदालतले थुनामा पठाउने आदेश दिइसकेपछि मात्र सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको हकमा भने उनले मुद्दा दर्ता हुनेबित्तिकै पद निलम्बन गर्ने निर्णय गरेका थिए ।
सभामुखले पुराना निर्णयमा द्वैध चरित्र देखाएको हुनाले उनले बस्नेतको हकमा के निर्णय गर्छन् भन्ने विषय चासोमा छ ।
याे पनि पढ्नुहाेस् :
टेरामक्स खरिदमा भ्रष्टाचार : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा
FACEBOOK COMMENTS