काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित भए पनि गम्भीर रूपमा घाइते भएको दाबी गरेका छन् । उनले अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।
ट्रम्पका अनुसार मोजतबा खामेनी अझै जीवित रहेको अनुमान गरिएको छ, तर उनको स्वास्थ्य अवस्था गम्भीर रहेको हुन सक्ने बताएका छन् ।
यसैबीच बेलायतको पत्रिका द सनले २८ फेब्रुअरीमा भएको आक्रमणमा खामेनी गम्भीर रूपमा घाइते भएको दाबी गरेको छ । उक्त विवरणअनुसार आक्रमणका क्रममा उनलाई धेरै चोट लागेको र एक खुट्टा काट्नुपरेको उल्लेख गरिएको छ ।
साथै पेट वा कलेजोमा पनि गम्भीर चोट लागेको हुन सक्ने जनाइएको छ । त्यस विवरणमा उनी अचेत अवस्थामा हुन सक्ने र तेहरानस्थित सिना विश्वविद्यालय अस्पतालमा कडा सुरक्षाबीच उपचार भइरहेको उल्लेख गरिएको छ ।
तर इरानका अधिकारीहरूले भने खामेनी आक्रमणमा घाइते भए पनि सुरक्षित रहेको बताएका छन् । साइप्रसका लागि इरानका राजदूत अलिरेजा सलारियनका अनुसार उनको खुट्टा, हात र पाखुरामा चोट लागेको छ र उपचारका लागि अस्पतालमा राखिएको छ । उनले अहिले सार्वजनिक रूपमा उपस्थित भएर सम्बोधन गर्न सक्ने अवस्थामा नरहेको पनि बताएका छन् ।

यसैबीच इरानको सरकारी मिडियाले मोजतबा खामेनीको एक सन्देश प्रसारण गरेको छ । उक्त सन्देश उनी स्वयंले नभई समाचार वाचकले पढेर सुनाएका थिए । सन्देशमा युद्धमा मारिएका व्यक्तिको बदला लिने चेतावनी दिइएको छ । साथै अमेरिकाले क्षेत्रमा रहेका आफ्ना सैन्य अड्डा बन्द नगरे ती अड्डामाथि आक्रमण हुन सक्ने चेतावनी पनि दिइएको छ ।

FACEBOOK COMMENTS