काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।
आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताउँदै मौद्रिक नीतिमार्फत समस्या समाधानको पहल गरिएको बताएका छन् ।
नेपाल राष्ट बैंकले मौद्रिक नीतिमार्फत समास्याग्रस्त व्यवसायलाई सहजीकरण गर्ने भएको छ । जसअनुसार १० प्रतिशत ऋण बुझाएमा ऋणको पुनर्संरचना हुने व्यवस्था मौद्रिक नीतिले गरेको छ । त्यस्तै, मौद्रिक नीतिमा घर कर्जा सीमा बढाइएको छ । अब निजी घर बनाउन कर्जा सीमा बढाएर तीन करोड रुपैयाँ पुर्याइएको छ, यसअघि यो व्यवस्था दुई करोड रुपैयाँको थियो ।
त्यस्तै, राष्ट्र बैंकले ब्याजदर थप घटाउन नरम नीति ल्याएको छ । मौद्रिक नीतिमा ब्याजदरको माथिल्लो सीमालाई साढे ६ प्रतिशतबाट ६ प्रतिशतमा झारिएको छ भने नीतिगत दर ५ प्रतिशतबाट साढे ४ प्रतिशतमा झारिएको छ । त्यस्तै, ब्याजदरको तल्लो सीमा ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै, अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसअघि २५ सय डलर रहेकोमा अब ३ हजारसम्म सटहीको सुविधा दिने भएको छ ।
FACEBOOK COMMENTS