काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०७८÷७९ का लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको बताएका छन् ।
कोरोना महामारीबाट थलिएको साना तथा ठूला उद्योग व्यवसायलाई लक्षित गरी ल्याइएका विभिन्न योजनाहरू निजी क्षेत्रमैत्री रहेको बताउँदै उनले मौद्रिक नीतिको स्वागत गरेका छन् । अघिल्लो वर्ष ल्याइएको मौद्रिक नीतिमा समावेश भएका अधिकांश लोकप्रिय नीतिहरूलाई यो वर्ष पनि निरन्तरता दिइएकाले निजी क्षेत्र थप उत्साहित रहेको पनि उनको भनाइ छ ।
कोरोना भाइरसको महामारीबाट ग्रस्त बनेका उद्योग व्यवसायको पुनःउत्थान काकार्यक्रम, विद्युतीय भुक्तानीलाई प्राथमिकता, बैंक तथा वित्तीय संस्थाको मर्जरमा प्रोत्सान गर्ने नीति, साना तथा मझौला उद्योगका लागि ल्याइएको कर्जा नीतिलगायत नीतिहरू मौद्रिक नीतिको प्रमुख विशेषता भएको बताउँदै उनले यसले समग्रमा मुलुकको अर्थतन्त्र उकास्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
मौद्रिक नीतिमा उद्योगी/व्यवसायीको हितमा धेरै बुँदा उल्लेख गरिएकाले यो उद्योग तथा व्यवसायमैत्री रहेको उनको बुझाइ छ ।