काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा १८ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको जानकारी दिएको हो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २०८० पुसमसान्तमा आइपुग्दा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले बढेर .१६ खर्ब २३ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ ।
२०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
FACEBOOK COMMENTS