चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गरे । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएसँगै मर्मतका क्रममा रहेको सो सङ्ग्रहालयको मन्त्री तामाङले स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनको भनाइलाई उद्धृत गर्दै भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्व सुवेदीका अनुसार मर्मतको काम चाँडो सकेर सर्वसाधारणका लागि खुल्ला गर्न निर्देशन दिए । यस बङ्गलाको महत्व बुझाउनका लागि पनि सर्वसाधारणका लागि चाँडो खुल्ला गर्नुपर्ने उनको भनाइ थियो ।
भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्ष्यित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयको मर्मतको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । रङ्गरोगन र सामान्य कामहरु बाँकी रहेको उनले जानकारी दिए । वर्षातको समयमा बङ्गला सञ्चालनमा ल्याउनका लागि कठिन हुने भएकाले सर्वसाधारणका लागि खुल्ला केही समय पछि गरिने लामाले बताए ।
यसको मर्मतसम्भारका लागि रु ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेर काम गर्दै आएको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको इकाइ चलेको छ ।
ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैँचा अहिले पनि जस्ताको जस्तै छ । राजपरिवार हुँदा दरबारको महत्व नै फरक खालको थियो । जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए ।
FACEBOOK COMMENTS