असोज २४। लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री कुलप्रसाद केसी बनेको महिनौं पछी सरकारले पूर्णता पाएको छ।
यसअघि शंकर पोखरेल नेतृत्वका सरकारकोभन्दा दोब्बर १७ सदस्यीय मन्त्रिमण्डल मुख्यमन्त्री कुलप्रसाद केसीले बनाएका हुन्।
मुख्यमन्त्री केसीले १३ मन्त्री र चार राज्यमन्त्री बनाएका हुन्। गठबन्धनको सरकारमा कांग्रेसबाट चार मन्त्री र दुई राज्यमन्त्री बनेका छन्।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री सरकारमा पुगेका छन्। जनता समाजवादीबाट तीन मन्त्री, एकीकृत समाजवादीका एक, स्वतन्त्र एक जना मन्त्री बनेका छन्।
आइतबार प्रदेश प्रमुख अमिक शेरचनले आन्तरिक मामिला तथा कानून मन्त्रीमा तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीमा इन्द्रजित थारु र उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रीमा बिरबहादुर रानालाई शपथ खुवाएका छन्।
त्यस्तै कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा रमा घर्ती र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीमा बसीउद्दीन खाँले शपथ लिएका छन्।
नेकपा विभाजनपछि माओवादी रोजेकी विमला खत्री वली, अर्जुनकुमार श्रेष्ठ, सुष्मा यादव र रिना नेपाल विकले राज्यमन्त्रीको शपथ लिएका छन्।
FACEBOOK COMMENTS