काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार इरन कुमार राईले मोरङ क्षेत्र–३ को समग्र विकासका लागि पर्यटन, कृषि आधुनिकीकरण र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता पत्रमार्फत उनले जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताए । बेलबारीस्थित बेतना सिमसार, सिसौली सिमसार, रमितेडाँडा, सुजना पार्क, पथरीको श्रीजंगा पार्क, भुल्के डाँस मोरङलगायत क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना अघि सारिएको छ । साथै, एशियन हाइवे आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, सहरी बजारहरूको सौन्दर्यीकरण, संस्कृति संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धनमार्फत पर्यटन आकर्षण बढाउने कार्यक्रमसमेत समेटिएको छ ।
कृषि क्षेत्रतर्फ उनले ‘कृषि नीति तथा राष्ट्रिय आत्मनिर्भरता’लाई मुख्य आधार बनाउँदै आधुनिक प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी विस्तार गर्ने बताएका छन् । उन्नत बीउ उत्पादन केन्द्र स्थापना, स्थानीय स्तरमै मलखाद तथा बीउबिजनको सहज उपलब्धता, कृषकका लागि तालिम तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छ ।
कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्न ‘एक वडा–एक कृषि प्राविधिक’ कार्यक्रम सञ्चालन गर्ने तथा बिचौलियामुक्त बजार प्रणाली विकास गरिने प्रतिबद्धता जनाइएको छ। किसानलाई प्रत्यक्ष बजारसँग जोड्न डिजिटल मार्केट प्लेटफर्म प्रयोग गर्ने योजना पनि अघि सारिएको छ ।

उम्मेदवार राईले कृषिलाई उपभोगमुखी मात्र नभई आयआर्जनमुखी र उत्पादनमुखी बनाउँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने दाबी गरेका छन् ।
उनका अनुसार पर्यटन र कृषि क्षेत्रको समन्वित विकासबाट मोरङ–३ लाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र समृद्ध क्षेत्र बनाउने लक्ष्य राखिएको छ । एमालेका तर्फबाट उम्मेदवारी दिएका राईले “निर्णायक राष्ट्रिय शक्ति निर्माण, समृद्ध नेपाल सुखी नेपाली” नारासहित राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन र सुशासनलाई मुख्य लक्ष्यका रूपमा अघि सारेका छन् ।

सार्वजनिक प्रतिबद्धता पत्रमा राईले संविधान संशोधनलाई प्राथमिक एजेन्डा बनाएका छन् । संघीयता कार्यान्वयनको एक दशकको अनुभवका आधारमा देखिएका कमजोरी सच्याउँदै नागरिकको सर्वोपरी हित, आर्थिक मितव्ययिता र शासनको प्रभावकारितालाई केन्द्रमा राखेर संशोधनमा भूमिका खेल्ने उनको प्रतिबद्धता छ । उनले संविधानलाई व्यवहारमा अझ कार्यान्वयन र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

त्यसैगरी, प्रदेश सरकारको संरचनामा पुनर्संरचना आवश्यक रहेको राईको धारणा छ । वर्तमान संरचनाले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै उनले आर्थिक भार नबढ्ने, प्रशासनिक रूपमा छरितो र प्रभावकारी प्रदेश संयन्त्र निर्माणमा पहल गर्ने बताएका छन् । विकास र समन्वयमा केन्द्रित, विशेषता पहिचानसहितको प्रदेश संरचना विकास गर्ने उनको योजना छ ।

राईले राजनीतिक स्थायित्वमार्फत आर्थिक समृद्धि सम्भव हुने जिकिर गरेका छन् । सामाजिक न्याय, सुशासन र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई जोड दिँदै उनले रोजगारी सृजनामा जोड दिने बताएका छन् । आत्मनिर्भर र सुरक्षित राष्ट्र निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

उनले आफूलाई “सुसंस्कृत, सृजनशील व्यक्तित्व”का रूपमा प्रस्तुत गर्दै विगतका अधुरा काम पूरा गर्न अवसर मागेका छन् ।
स्थानीय तहसँग सहकार्य गर्दै पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, कृषि आधुनिकीकरण तथा युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने कार्यक्रम अघि सारिने जनाइएको छ । राईले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोरङ–३ मा प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । मतदाताले संविधान संशोधन, प्रदेश संरचना, रोजगारी र विकासलाई मुख्य मुद्दाका रूपमा उठाइरहेका बेला राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रले चुनावी बहसलाई नयाँ आयाम दिएको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना एजेन्डा र कार्यक्रमलाई थप स्पष्ट पार्ने क्रम जारी छ ।
FACEBOOK COMMENTS