काठमाडौं । निजी क्षेत्रकै सबैभन्दा पुरानो मध्येको एक मानिने संस्था मोरङ उद्योग व्यापार संघमा आइतबार नयाँ नेतृत्व निर्विरोध चयन भएको छ।
अनिलकुमार साहलाई संघले अध्यक्ष चयन गरेको छ। साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको संघले जानकारी दिएको छ।
साह वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए। संघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्कोपटक स्वत: अध्यक्ष हुने व्यवस्था अनुसार ३५ औं कार्यकारिणी समितिको अध्यक्षमा चयन भएका हुन्।
संघको सबै पदमा सहमतिका आधारमा उम्मेदवारी परेपछि मतदान नभएको साहले जानकारी दिए। संघको वरिष्ठ उपाध्यक्षमा अनिल शारडा चयन भएका छन्।
वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र उद्योगतर्फको उपाध्यक्षमा संजय कुमार श्रेष्ठ छन्। यस्तै, महासचिवमा अमितकुमार शारडा तथा सचिवमा अमित राठी र दीपेश सुवेदी चयन भएका छन्।

कोषाध्यक्षमा विनीत सिंघानिया र सह–कोषाध्यक्षमा मनिष कुमार मारु छन् । प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन्।

कार्यसमिति सदस्यतर्फ राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक), विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु छन्।
त्यस्तै, आइतबार नै डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओमप्रकाश शर्मा सदस्यमा मनोनित भएका छन्।
संघले पाँच जनालाई आमन्त्रित सदस्यसमेत मनोनयन गरेको छ। आमन्त्रित सदस्यमा डा. दिपेन्द्र नोलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल रहेका छन्।
त्यसैगरी संघ अन्तर्गतको महिला उद्यम समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा साधना भट्ट र सह–संयोजकमा जीना श्रेष्ठ छन्।