पोखरा मंसिर २१, यहाँको लक्ष्मीनारायण मन्दिर एउटा निकै पुरानो धार्मिक स्थलको रुपमा परिचित छ । गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ ।
मंसिर ६ गते देखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ ।
पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण धार्मिक महोत्सव अवधिभर नगद रु ३ करोड ४८ लाख आर्थिक सहयोग संकलन गरिएको महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।
१५ दिनसम्म सञ्चालित उक्त धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रा सहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा प्रखर धर्म गुरुहरुको आतिथ्यता सँगै सन्तहरुको कुम्भ मेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजन किर्तन, साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।
नगद रु ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य अनुरुप धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् ।
महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघ संस्थालाई अभिनन्दन गरिएको थियो ।
FACEBOOK COMMENTS