नुवाकोट । लामो समयसम्म जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थन्किएका स्कुटर र मोटरसाइकलको सुरक्षित व्यवस्थापनमा नुवाकोट प्रहरीलाई चुनौती भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले ५५ थान मोटरसाइकलको सुरक्षित व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाउँदै सम्बन्धित सवारीसाधनधनीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा सुरक्षा चेकजाँच र दुर्घटनामा बरामद भएका मोटरसाइकल र स्कुटरको धनी लामो समयसम्म सम्पर्कमा नआउँदा सम्बन्धित सवारी धनीलाई बुझाउन सकिरहेको छैन । कार्यालयले सम्बन्धित सवारीसाधनधनीलाई प्रमाणसहित दाबीका लागि १५ दिने सूचना जारी गरेको हो ।
प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) सञ्जयसिंह थापाका अनुसार जिल्लाको विभिन्न स्थानबाट बरामद भएका सवारीसाधन लिन सम्बन्धित धनी नआएकाले दाबी गर्न अन्तिमपटकका लागि गत आइतबारबाट १५ दिने सूचना जारी गरिएको छ । ‘कार्यालयपरिसरमा राखिएका सवारीसाधन लामो समयसम्म थन्क्याउँदा प्रयोगमा ल्याउन कठिन हुने भएकाले सम्बन्धित धनीलाई आफ्नो साधन दाबीको लागि आउन आग्रह गरेका छौँ,’ उनले भने, ‘तोकिएको अवधिभित्र नआए कानुनअनुसार लिलाम गरेर राजस्वमा दाखिला गर्नेछौँ ।’
जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले विभिन्न स्थानबाट बरामद भएका ती सवारीसाधन अधिकांश चालू अवस्थामा रहेका छन् । तर, लामो समयसम्म थन्किएकाले प्रयोगमा ल्याउन कठिन हुन सक्ने र प्रहरीलाई पनि सुरक्षित व्यवस्थापनमा चुनौती भएसँगै सम्बन्धित धनीको खोजी थालिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार यसअघि बेवारिसे साधनका सम्बन्धमा यातायात व्यवस्था विभागमा पत्राचार गरेर जिम्मा लगाउँदै आए पनि हाल मौजुदा रहेका ५५ थान मोटरसाइकल र स्कुटरका धनी सम्पर्कमा नआएपछि दाबी–विरोधको सूचना जारी गरिएको हो ।
धनीको पहिचान नभएका ती सवारीसाधन अधिकांश बेवारिसे अवस्थामा बरामद भएका, चेकजाँचको क्रममा छाडेर भागेका, लामो अवधिदेखि सवारीको राजस्व नबुझाएका, दुर्घटनापश्चात् छाडेकालगायतको कैफियत भएको पाइएको छ । बेवारिसे मोटरसाइकल र स्कुटर दाबीका लागि सहज बनाउन इन्जिन नम्बर, चेसिस नम्बर, सवारीको किसिम, मोडल नम्बरसहितको विवरण उल्लेख गरेर नुवाकोट प्रहरीले सूचना निकालेको हो । -सज्जन उत्सुक सापकोटाबाट
FACEBOOK COMMENTS